बुटवल,३० जेठ ।
बुटवलमा उपमहानगरपालिकाले एकसय जना विद्यार्थीहरूलाई ट्राफिक व्यवस्थापनमा खटाउने भएको छ ।

“पढाईसँगै राेजगार कार्यक्रम” अन्तर्गत बुटवल उपमहानगरपालिकाले एकसय जना विद्यार्थीहरूलाई ट्राफिक व्यवस्थापनमा खटाउन लागेको हो ।
ट्राफिक व्यवस्थापनतर्फ सहभागी विद्यार्थीहरूका लागि उपमहानगरपालिकाले क्षमता अभिबृद्वि तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा बुटवलका नगर प्रमुख खेलराज पाण्डेयले अध्ययनसँगै राेजगारी गर्न चाहने विद्यार्थीलाई लक्षित गरि पढाईसँगै राेजगार कार्यक्रम सञ्चालन गरिएको भन्दै खटिएको ठाउँमा उत्कृष्ट सेवा प्रवाह गर्न आग्रह गरे ।
यस्तो कार्यक्रम देशभरमै नयाँ भएको भन्दै नगर प्रमुख पाण्डेयले कार्यक्रमकाे प्रभावकारीतालाई हेरेर आगामी बर्ष समयावधि र सहभागीकाे संख्या बृद्वि गर्ने योजना रहेको बताए ।
साे अवसरमा लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी नायव उपरीक्षक माेहनजंग बुढथापाले यस्ता कार्यक्रमले विद्यार्थीका लागि राेजगारीसँगै दुर्घटनामा कमि आउने विश्वास विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दीनेश पाण्डे,बुटवल उपमहानगरपालिका राेजगार प्रवर्द्धन शाखा प्रमुख अरविन्द पाण्डेलगायतले कार्यक्रमकाे उदेश्य र औचित्यबारे आ आफ्नो भनाइ राखेका थिए ।
पढाईसँगै राेजगार कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिकाले यसअघि एकसय जना विद्यार्थीहरूलाई राजश्व व्यवस्थापनमा खटाइसकेको छ ।






