काठमाडौँ,२९ जेठ ।
आयोजक मेक्सिकोले विश्वकप फुटबलको उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा बिहीबार राति भएको खेलमा मेक्सिकोका लागि जुलियन किन्योनेस र राउल हिमेनेजले एक–एक गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा तीन रातो कार्ड देखाइएकाे थियो ।

मेक्सिकोले नवौँ मिनेटमै अग्रता लिएको थियो । दक्षिण अफ्रिकाका स्पेफेलो सिथोलेले गोलकिकपछि बल नियन्त्रणमा गल्ती गर्दा त्यसको फाइदा उठाउँदै किन्योनेसले उत्कृष्ट प्रहारमार्फत गोल गरे ।

सिथोलेको खराब दिन दोस्रो हाफको सुरुआतमै थप निराशाजनक बन्यो । उनले प्रतियोगिताको पहिलो रातो कार्ड पाएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सीमित भएको थियो । त्यसको फाइदा उठाउँदै मेक्सिकोले दोस्रो गोल गर्‍यो । राउल हिमेनेजले उत्कृष्ट हेडमार्फत राष्ट्रिय टोलीका लागि आफ्नो पहिलो विश्वकप गोल गरेका थिए । गोलपछि उनी भावुक बन्दै मैदानमै आँसु झारेका थिए । सन् २०२० मा गम्भीर टाउको चोटका कारण करिअर संकटमा परेका ३५ वर्षीय हिमेनेजका लागि यो विशेष क्षण बनेको थियो । उनले यस वर्ष निधन भएका आफ्ना पिताको सम्झनामा पनि उक्त गोल समर्पण गरेका थिए ।

खेलको अन्त्यतिर दक्षिण अफ्रिकाले अर्को झट्का बेहोर्‍यो । थेम्बा ज्वानेले अनावश्यक फउल गरेपछि सिधै रातो कार्ड पाए र टोली नौ खेलाडीमा झर्‍यो । यता खेल सकिन केही क्षण बाँकी रहँदा मेक्सिकोका सेजार मोन्टेसले स्पष्ट गोल अवसर रोकिएको ठहर गर्दै रेफ्रीले उनलाई पनि रातो कार्ड देखाएका थिए ।

पूर्ण समयको सिट्टीसँगै घरेलु समर्थक उत्सवमा डुबेका थिए । उद्घाटन खेलमा प्रभावशाली जित निकालेको मेक्सिको नकआउट चरणतर्फ बलियो कदम चाल्न सफल भएको छ ।

अब मेक्सिकोले अर्को खेल जुन १९ मा दक्षिण कोरिया र जुन २५ मा चेक गणतन्त्रसँग खेल्ने तालिका छ । त्यस्तै दक्षिण अफ्रिकाले जुन १८ मा चेक गणतन्त्र र जुन २५ मा दक्षिण कोरियासँग खेल्ने तालिका रहेको छ ।