काठमाडौँ,२८ जेठ ।
फुटबलको महाकुम्भ ‘फिफा विश्वकप २०२६’ आजदेखि अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा सुरु हुँदैछ ।

विश्वकै सबैभन्दा ठूलो एकल खेल प्रतियोगिताका रूपमा परिचित यसपटकको विश्वकप खेलका कारण मात्र नभई, इतिहासकै कीर्तिमानी पुरस्कार राशिका कारण पनि निकै चर्चामा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले यस संस्करणको पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरेको छ, जसले फुटबल र अन्य खेलहरूबीचको आर्थिक अन्तरलाई अझ स्पष्ट पारेको छ ।

सन् २०२२ मा कतारमा सम्पन्न विश्वकपको कुल पुरस्कार राशि ४४० मिलियन अमेरिकी डलर रहेकोमा यसपटक सन् २०२६ को संस्करणमा यो रकम बढेर ६५५ मिलियन अमेरिकी डलर पुगेको छ, जुन नेपाली रुपैयाँमा करिब एक खर्ब बराबर हुन्छ ।

यसपटक प्रतियोगिताको मुख्य उपाधि जित्ने विजेता टोलीले मात्रै ५० मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ, जुन नेपाली रुपैयाँमा करिब करिब साढे ७ अर्ब हुन आउँछ । त्यस्तै, फाइनलमा पराजित हुने उपविजेता टोलीले ३३ मिलियन अमेरिकी डलर चित्त बुझाउनुपर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टोलीले २९ मिलियन अमेरिकी डलर र चौथो स्थानमा रहने टोलीले २७ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पाँचौँदेखि आठौँ स्थान अर्थात् क्वार्टरफाइनलसम्म पुग्ने चारवटा टोलीले समान १९–१९ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन् । नवौँदेखि सोह्रौँ स्थान (राउन्ड अफ १६) सम्म पुग्ने टोलीहरूको भागमा १५–१५ मिलियन अमेरिकी डलर पाउने छन् ।

यसैगरी, सत्रौँदेखि बत्तिसौँ स्थानमा रहने टोलीहरूले ११–११ मिलियन डलर पाउने फिफाको आर्थिक योजनामा उल्लेख छ । प्रतियोगितामा सहभागी भई तेत्तिसौँदेखि अठ्चालीसौँ स्थान अर्थात् समूह चरणबाटै बाहिरिने टोलीहरूले पनि खाली हात फर्कनु पर्ने छैन, उनीहरूले ९–९ मिलियन अमेरिकी डलर प्रदर्शन पुरस्कारबापत प्राप्त गर्नेछन् ।

फिफाको आर्थिक संरचना केवल मैदानको प्रदर्शन र स्थानका आधारमा दिइने पुरस्कारमा मात्र सीमित छैन । प्रतियोगिताका लागि छनोट भएका प्रत्येक टोलीलाई फिफाले १० मिलियन अमेरिकी डलर छनोट भुक्तानी तथा २.५ मिलियन अमेरिकी डलर तयारी अनुदानसमेत प्रदान गर्नेछ ।

यसको अर्थ, यदि कुनै टोली समूह चरणबाटै बाहिरियो र प्रतियोगिताको सबैभन्दा अन्तिम स्थानमा रह्यो भने पनि उसले ९ मिलियन डलर प्रदर्शन पुरस्कार, १० मिलियन डलर छनोट भुक्तानी र २.५ मिलियन डलर तयारी अनुदान गरी कुल २१.५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब २७ करोड नेपाली रुपैयाँ) रकम घर लैजान पाउनेछ ।

फिफाका अनुसार विश्वकप २०२६ मा सहभागी हुने कुल ४८ वटा टोलीबीच विभिन्न शीर्षकमा गरेर कुल ८७१ मिलियन अमेरिकी डलर वितरण गरिनेछ । यसले विश्व फुटबलको विशाल आर्थिक शक्ति र यो प्रतियोगिताको बढ्दो व्यावसायिक महत्वलाई उजागर गरेको छ ।