बुटवल,२८ जेठ ।
अधिकांश सवारी दुर्घटना चालकको लापरबाहीका कारण हुनेगरकाे भन्दै ट्राफिक नियमको पालना गरेर सवारीसाधन चलाउनुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।

सुरक्षित,सहज र मर्यादित यात्रा एवम् सडक दुर्घटना न्युनिकरणका लागि बिहीबार भैरहवामा आयोजित प्रशिक्षण एवम् छलफल कार्यक्रममा बाेल्ने सराेकारवालाहरूले उक्त कुरामा जाेड दिएका हुन् ।

कार्यक्रममा सिद्वार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले ट्राफिक नियमको पालना गरेर सवारीसाधन चलाउँदा दुर्घटनाको जाेखिम कम हुने भन्दै सबैले ट्राफिक नियमको पालना गर्नुपर्नेमा जाेड दिए ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनीका प्रमुख,प्रहरी उपरीक्षक निशान थापाले दुर्घटनामा न्युनिकरणका लागि ट्राफिक नियमको पालना गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख,प्रहरी उपरीक्षक जनक कुमार शाहीले सुरक्षित यात्राका लागि ट्राफिक नियमको पालना गर्नुपर्ने आवश्यकता औल्याए ।

साे अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रमुख,प्रहरी निरीक्षक प्रतिमा कार्कीले सुरक्षित यात्रा र ट्राफिक नियम बारे कार्यपत्र प्रस्तुतिकरण गर्दै रूपन्देहीमा प्रत्येक ३ दिनमा एक जनाको मृत्यु हुनेगरेकाे जानकारी गराइन् ।

तिध्र गति,मापसे र लापसे दुर्घटनाको मुख्य कारण रहेको भन्दै उनलेे जथाभावी ओभर टेक,ओभर लाेडले पनि दुर्घटना हुने बताइन् ।

सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेलबासेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा सिद्वार्थनगर नगरपालिकाका सहायक शिक्षा अधिकृत कृष्णप्रसाद पाेखरेल,मुनलाइट स्कुलका प्रधानाध्यापक टिकाराम भट्टराई,एम्बुलेन्स चालक संघ रूपन्देहीका उपाध्यक्ष सुरज अधिकारी,सुरक्षित यात्रा नेपालका उपाध्यक्ष दीपक ढकाल,महासचिव प्रकाश नेपाललगायतले कार्यक्रमकाे आवश्यकता र महत्व बारे आ आफ्नो भनाइ राखेका थिए ।