बुटवल,२७ जेठ ।
बुटवलको अमरपथ स्थित तिनाउ सुन चाँदी पसलमा भएको चोरीमा पसल सञ्चालक र कर्मचारीकै संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
गत जेठ १७ गते राति भएको चोरीमा पसल सञ्चालक र कर्मचारीकै संलग्नता रहेको पाइएको प्रहरीको दाबी छ । घटनाबारे एक हप्ताको अनुसन्धानबाट चोरीमा पसल सञ्चालक दीपक सेन्चुरी र कर्मचारी नवीन विकको संलग्नता पुष्टि भएको रूपन्देही प्रहरी प्रमुख, प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । चोरी भएको मध्ये ५ तोला सुन र २५ तोला चाँदी दीपकको घरबाट बरामद भएको शाहीले बताए ।
पसलका सञ्चालक दीपक सेन्चुरीले करिब ७० तोला बराबरको सुनका गहना र काचो सुन चोरी भएको प्रहरीलाई बताएका थिए ।रातको समयमा पसलको च्यानल गेटको ताला खोलेर सटरलाई एक फुट माथि तानेर चोरभित्र पसेको, सुन र गहना राखिएको लकरको तालालाई करिब ५० वटा फरक फरक चाबी प्रयोग गरी फोडेर गहना लिएर गएको पाइएको थियो ।
चोरी हुँदाको समयमा पसल सञ्चालक दीपक सेन्चरी पोखरा गएको प्रहरीलाई बताए पनि अनुसन्धानबाट उनी बुटवलमै भएको खुलेको छ । पसलको सीसीटिभी क्यामेरा बिग्रेको समयमा चोरी भएकाले घटना शंकास्पद देखिएको भन्दै प्रहरीले सोही आधारमा अनुसन्धान अगाडी बढाएको थियो । चोरीको घटना जेठ १७ गते राति भए पनि दीपकले आफू पोखराबाट फर्किँदै गरेको बताएर सोमबार साँझ अबेर प्रहरीलाई चोरीबारे जानकारी गराएका थिए । चोरीको घटनापछि पसल सञ्चालकले एक करोड ४६ लाख ९४ हजार सात सय बराबरको सुनचाँदीका गरगहनाहरू चोरी भएको बताएका थिए ।
पसलको बिमा दाबी गर्न र अन्य मानिसहरुले पसलमा राख्न दिएको सुन र पैसा फिर्ता गर्न नपर्ने सोची योजनाबद्ध रुपमा चोरीको नाटक गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । दीपक र नवीनलाई पक्राउ गरी अपराधिक विश्वासघात मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए । उक्त पसल भाडाको सटरमा करिब ४० वर्षदेखि सञ्चालनमा छ ।
पसलमा एकजना आफन्त र एकजना कामदार गरी दुई जना कर्मचारी थिए । प्रारम्भिक अनुसन्धानमा पसलको सीसीटिभी क्यामेरा बिग्रेको जानकारी भएको व्यक्तिको घटनामा संलग्नता हुन सक्ने प्रहरीले अनुमान गरेको थियो । सोहीअनुसार प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दा सञ्चालक र आफन्तसमेत रहेका कर्मचारी नवीनको नै संलग्नता भेटिएको श्रीवास्तवले बताए । सीसीटिभी फुटेजको सहयोगले दीपक र नवीन चोरीमा संलग्न भएको पत्ता लगाउन सकिएको उनले बताए । यस्तै प्रहरीले बुटवलकै देव सुनचाँदी पसलमा सटरको ताला काट्दै गरेको अवस्थामा कैची,पेँचकस सहित ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका अब्दुल सलमा, नसिर अली, मोहम्मद सुेलमान, शहिद मोहम्मद सेख ,कर्ण शर्मा , मोहम्मद पारिस रहेका छन् ।
यस्तै बुटवल ८ सुख्खानगरको एक घरबाट नगद र सुनजाँदीका गरगहनाहरु चोरी गरेको आरोपमा कपिलबस्तु नगरपालिका वडा नं. २ बस्ने २७ वर्षिया शिव ओम थारुलाई प्रहरीले पक्राउ गरेको छ ।






