बुटवल,२७ जेठ ।
बुटवल उपमहानगरपालिकामा पढाईसँगै राेजगार कार्यक्रम सुरु भएको छ ।

उपमहानगरपालिकाकाे पढाईसँगै राेजगार कार्यक्रम अन्तर्गत राजश्व व्यवस्थापनतर्फ सहभागी विद्यार्थीहरूलाई क्षमता अभिबृद्वि तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले नेपालका पालिकाहरूमध्ये बुटवल उपमहानगरपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिएको भन्दै त्यसबाट लाभ लिन विद्यार्थीहरूलाई आग्रह गरे ।

दुई बर्षकाे प्रयासपछि साे कार्यक्रम सञ्चालन गर्न सफल भएको भन्दै नगर प्रमुख पाण्डेयले कार्यक्रमकाे प्रभावकारिताकाे आधारमा आगामी दिनमा थप कार्यक्रम अगाडि बढाइने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख राेशन कुमार रेग्मीले प्रशिक्षार्थीहरूलाई सहजिकरण गरेका थिए ।

साे अवसरमा विद्यार्थी निशा काफ्ले,मनाेज खनाललगायतले कार्यक्रमबारे आ आफ्नो भनाइ राखेका थिए ।

स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई एकमहिनाका लागि राजश्व संकलन सम्बन्धि काममा खटाइने योजना रहेको उपमहानगरपालिकाका राेजगार प्रवर्द्धन शाखा प्रमुख अरिवन्द पाण्डेले जानकारी दिए ।