बुटवल,२७ जेठ ।
बुटवल उपमहानगरपालिका “पूर्ण खाेप दिगोपना सुनिश्चितता ” घाेषणा भएको छ ।
बुधबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति प्रमुख समेत रहेका जिल्ला खाेप समन्वय समिति प्रमुख उमाकान्त चपाई,बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय,उपप्रमुख सावित्रादेवी अर्याल,जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रतिनिधिसहितको सहभागीतामा बुटवललाई पूर्ण खाेप दिगोपना सुनिश्चितता घाेषणा गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चपाईले सबै सराेकारवालाहरूकाे निरन्तरताको मिहिनेतपछि बुटवल उपमहानगरपालिका “पूर्ण खाेप दिगोपना सुनिश्चितता ” घाेषणा गर्न सफल भएको भन्दै यसलाई कायम राख्नुपर्नेमा जाेड दिए ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्याल,
स्वास्थ्य कार्यालय नवलपरासी बरिस्ठ जनस्वास्थ्य अधिकृत भेसराज शर्मा,स्वास्थ्य कार्यालय रूपन्देही फाेकल पर्सन डिलाराम भुसाल, कालिका मानवज्ञान माविका प्रधानाध्यापक दीनेश कुमार थापा,
सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्चाल बुटवल उपमहानगरपालिका संयोजक माया गाैतम,बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयलगायतले पूर्ण खाेप सुनिश्चितताकाे आवश्यकता र महत्व बारे प्रकाश पारेका थिए ।
नगर भित्रका १५ महिनामुनिका १ हजार ७६७ जना र १६ देखि ५९ महिनासम्म का ४ हजार ५१३ गरि जम्मा ६ हजार २८० बालबालिकालाई सबै किसिमका खाेप लगाएको सुनिश्चित भएपछि बुटवललाई पूर्ण खाेप सुनिश्चितता पालिका घाेषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पाण्डेले जानकारी दिए ।
साे अवसरमा बुटवल उपमहानगरपालिकाका १ देखि १९ वटै वडालाई पूर्ण खाेप सुनिश्चितता वडाको प्रमाणपत्र प्रदान गरिएको थियो ।






