बुटवल,२६ जेठ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) रूपन्देहीकाे आयोजना र बुटवल उपमहानगरपालिकाकाे सहकार्यमा बुटवलमा आजदेखि आदिवासी जनजाति तथा सीमान्तीकृत समुदायका पत्रकारहरूकाे क्षमता विकास तालिम समापन भएको छ ।
तालिमको मंगलबार एक कार्यक्रमकाबीच समापन गरिएको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिका सबै जात जाति,भाषा भाषि,समुदाय र धर्मको साझा चाैतारीकाे रूपमा विकास गर्ने योजना अनुसार बजेट छुट्टयाइएको भन्दै फाेनिजकाे तालिम पनि साेही अनुरूप भएको बताए ।
सुचना प्रविधिमा आएको तिब्र विकाससँगै पत्रकारहरूका लागि अवसर र चुनाैति दुवै देखापरेको भन्दै उनलेे प्रविधिकाे सहि उपयोग गर्नुपर्नेमा जाेड दिए ।
पछिल्लो समय समाज रूपान्तरण गर्ने भन्दा पनि समाचारमा लाइक र भ्युजका पछाडि लाग्ने प्रबृत्ति देखिएको भन्दै नगर प्रमुख पाण्डेयले भ्युज बढाउने भन्दा पनि समाजका लागि उपयोगी सामाग्री प्रकाशन प्रसारण गर्ने पत्रकारिता आजको आवश्यकता भएको बताए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष मीन रानाकाे सभापतित्वमा सम्पन्न तालिम समापन कार्यक्रममा फाेनिजका केन्द्रीय उपाध्यक्ष सरू राना,नेपाल मगर संघ रूपन्देहीका अध्यक्ष थर्कबहादुर बारघरे,आदिवासी जनजाति पत्रकार महासंघ रूपन्देहीका निवर्तमान अध्यक्ष साेनु थापा,प्रशिक्षक कमल चाैधरी,प्रेस सेन्टर रूपन्देही उपाध्यक्ष माया केसी,दलित पत्रकार संघ रूपन्देहीका सचिव कृय्ण रणपाल,गुरूङ संचारकर्मी टेकप्रसाद गुरूङ,प्रशिक्षार्थीद्वय सुरेश राना र जेनिशा साेतीलगायतले तालिमको उपयोगीता र आवश्यकता बारे आ आफ्नो भनाइ राखेका थिए ।
फाेनिज रूपन्देहीका उपाध्यक्ष सचिव आकृति थापा राज चाैधरीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सचिव आकृति थापाकाे सहजिकरणमा सम्पन्न भएको थियो ।
४५ जनाको सहभागीता रहेको दस दिने तालिममा फाेटाेग्राफि,एआईकाे प्रयोगलगायतका बिषयमा प्रशिक्षण दिइएकाे अध्यक्ष मीन रानाले जानकारी दिए ।






