बुटवल,२५ जेठ ।
बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखाले नगर भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूकाे दर्ता/ नविकरण गर्ने कार्यलाई तिब्रता दिएको छ ।
आफ्नो कार्यक्षेत्र भित्र पर्ने स्वास्थ्य संस्थाहरूबाट ताेकिएकाे मापदण्डअनुसार सञ्चालन गर्न उत्प्रेरित गर्ने उदेश्यले स्वास्थ्य संस्थाका सञ्चालकहरूलाई अभिमुखिकरणसहित प्रमाणपत्र प्रदान गरिएको बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए ।
कार्यालयले आज मात्रै १४ स्वास्थ्य संस्थाका सञ्चालकहरूलाई अभिमुखिकरणसहित प्रमाणपत्र बितरण गरेको हो ।
बुटवल उपमहानगरपालिकाबाट हालसम्म ३६ स्वास्थ्य संस्थाहरूले सञ्चालन अनुमतिपत्र प्राप्त गरेको र दर्ता नभएका स्वास्थ्य संस्थाहरूलाई सम्पर्कमा आउन सुचना जारी गरिएको जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए ।
१५ शैयाकाे अस्पताल,मेडिकल अफिसरसहितको क्लिनिक,डि र ई समुहको प्रयोगशाला सञ्चालन गर्ने अनुमतिपत्र जारी गर्ने अधिकार स्थानीय तहलाई रहेको छ ।
त्यसभन्दा माथिको स्वास्थ्य संस्थालाई प्रदेश र संघीय सरकारलाई अधिकार दिइएको छ ।







