बुटवल,२४ जेठ ।
तरकारी तथा फलफूलमा बिषादीकाे प्रयोग गर्नुपुर्व कुन राेगका लागि कुन बिषादी प्रयोग गर्ने भन्ने बिषयमा राम्रो ज्ञान हुनुपर्ने सराेकारवालाहरूले बताएका छन् ।
बुटवल उपमहानगरपालिका कृषि विकास शाखाद्वारा आइतबार बुटवलमा आयोजित “रासायनिक बिषादीकाे प्रयोग,वर्तमान अवस्था एवं व्यवस्थापन सम्बन्धि सचेतना अभिमुखिकरण” कार्यक्रममा बाेल्ने वक्ताहरूले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रा देवी अर्यालले कुनै पनि तरकारी तथा फलफूल र दूध उत्पादनमा घाटा लागे मुल्य बढाउन तर जथाभावी बिषादी प्रयोग नगर्न कृषकहरूलाई आग्रह गरिन् ।
बालकदेखि बृद्वसम्मले उपयोग गर्ने दूध,तरकारी तथा फलफूलमा बिषादीकाे जथाभावी प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै उनलेे बिषादीकाे प्रयोग गरेर धेरै उत्पादन गर्नुभन्दा मुल्य बढाउन उपयुक्त हुने सुझाव दिइन् ।
बुटवल उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष लाेकनाथ न्याैपानेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्ताेष जिसी,बिषादी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष प्रकाश अधिकारीलगायतले तरकारी तथा फलफूलमा जथाभावी बिषादीकाे प्रयोग गर्न नहुनेमा जाेड दिए ।






