बुटवल,२१ जेठ ।
स्वच्छ खाद्यान्न खान पाउनु नागरिकको अधिकार भएकोले खाद्यान्नमा मिसावट गर्न नहुने सराेकारवालाहरूले जाेड दिएका छन् ।

विश्व खाद्य स्वच्छता दिवसको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाद्वारा बिहीबार बुटवलमा आयोजित स्ट्रिट फुडकाे गुणस्तर तथा स्वच्छता सम्बन्धि सचेतना अभिवृद्धि कार्यक्रममा सहभागीहरूले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रा देवी अर्यालले स्वच्छ र स्वस्थ्यकर खानेकुरा खान पाउनु नागरिकको अधिकार भएको भन्दै आआफ्नो क्षेत्रमा सबै सचेत हुनुपर्ने बताइन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाका कार्यालय प्रमुख अनुप हलुवाई,बुटवल उपमहानगरपालिका अनुगमन शाखा प्रमुख लक्ष्मी अर्याल,बुटवल उपमहानगरपालिकाका योजना शाखाका प्रमुख ठगिश्वर पाेखरेल,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाका खाद्य निरिक्षण अधिकारी गाैरी मल्ल,साेही कार्यालयकि माइक्राेबायाेलाेजिष्ट प्रतिभा सुवेदीलगायतले विभिन्न किसिमका पेशा व्यवसाय सञ्चालन गर्नेहरू पनि कुनै न कुनै कुरामा उपभोक्ता भएको भन्दै उपभोक्ताकाे स्वास्थ्यलाई ख्याल गर्नुपर्नेमा जाेड दिए ।

मिसावट गरिएका र अस्वस्थकर खानेकुराले मानिसको ज्यानै जानसक्ने भन्दै उनिहरूले नागरिकको स्वास्थ्यसँग प्रत्येक्ष जाेडिएकाे खाद्य सुरक्षा जस्तो बिषयमा कसैले पनि हेलचेक्राई गर्न नहुने बताए ।