बुटवल,२० जेठ
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदबाट नेकपा एमालेका चार जना मन्त्रीले राजीनामा दिएका छन् । आफूहरूले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रूपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए ।
राजीनामा दिनेहरूमा भौतिक पूर्वाधार विकासमन्त्री ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्थी र स्वास्थ्यमन्त्री खेम सारु रहेका छन् ।
एमालेले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्ने तयारी गरेको छ । लुम्बिनीका मुख्यमन्त्री आचार्य एमालेका हुन् ।
कांग्रेससँगको सत्ता साझेदारी तथा सरकारको नेतृत्व परिवर्तनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो ।
यसअघि जेठको पहिलो सातामै मन्त्री हेरफेरको प्रयास भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैपटक सरकार पुनर्गठन गर्नुपर्ने अडान लिएपछि मन्त्री हेरफेर रोकिएको थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री आचार्यले एमालेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका हुन् ।
एमाले स्रोतका अनुसार मन्त्रीका लागि गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस गरिएको छ । खत्री यसअघि सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने भुसाल, घिमिरे र चौधरी मन्त्रीका लागि नयाँ अनुहार हुन् ।
एमालेले दोस्रोपटक प्रदेशसभामा निर्वाचित भएर पनि मन्त्री बन्ने अवसर नपाएका सांसदलाई प्राथमिकतामा राखेको छ । सोही आधारमा रामजी घिमिरे र तुलसीप्रसाद चौधरी सिफारिसमा परेका हुन् । प्रदेशसभाका ज्येष्ठ सदस्य भएकाले डिल्लीराज भुसाललाई पनि मन्त्रीका लागि अघि सारिएको छ ।







