५० वटा फरक–फरक चाबी प्रयोग गरी पसलको लकर खोलेर सुन चोरी गरेको तथ्य फेला
बुटवल,१९ जेठ ।
बुटवलको मुख्य व्यापारिक केन्द्र अमरपथको तिनाउ सुनचाँदी पसलबाट साढे २ करोड बढीका गरगहना चोरी भएको छ ।
पसलबाट करिब ८० तोला बराबरको सुनका गहना र सुन चोरी भएका पसलका सञ्चालक दीपक सेन्चुरीलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
८० तोला सुनको अहिलेको बजार मूल्य करिब साढे २ करोड रुपैयाँ हुन्छ ।
रातको समयमा पसलको च्यानल गेटको ताला खोलेर चोरभित्र पसेको पाइएको छ । ५० वटा फरक फरक चाबी प्रयोग गरी लकर खोलेर सुनका गरगहना चोरी गरेको पाइएको डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए ।
पसल सञ्चालक दीपक सेन्चरी पोखरा गएको तथा पसलको सीसीटीभी क्यामेरा बिग्रेको समयमा चोरी भएकाले घटना शंकास्पद देखिएको डीएसपी श्रीवास्तवकाे भनाइ छ ।
आइतबार राति घटना घटेको भए पनि दीपक पोखराबाट सोमबार साँझ अबेर बुटवल फर्केर प्रहरीलाई चोरीबारे जानकारी गराएका थिए ।
बुटवल ४ अमर पथमा भाडाको सटरमा करिब ४० वर्षदेखि सञ्चालनमा रहेको तिनाउ सुनचाँदी पसल इलाका प्रहरी कार्यालय बुटवल र अमरपथ प्रहरी बीटको नजिकै पर्छ ।
पसलमा एकजना आफन्त र एकजना कामदार गरी दुई जना कर्मचारी थिए ।
प्रारम्भिक अनुसन्धानमा पसलको सीसीटीभी क्यामेरा बिग्रेको जानकारी भएको व्यक्तिको घटनामा संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।
घटना बारे विभिन्न कोणबाट अनुसन्धान गरेर सकेसम्म छिटो भन्दा छिटो चोर पत्ता लगाउने डीएसपी श्रीवास्तवले बताए ।
प्रमुख व्यापारिक केन्द्रमा चोरी भएपछि सुनचाँदी व्यवसायीहरू त्रसित भएका छन् ।
घटनामा संलग्नलाई छिटो भन्दा छिटो पक्राउ गरी कारबाही गर्नुपर्ने उनिहरूकाे माग छ ।






