बुटवल,१८ जेठ ।
नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) ले आइतबार प्रतिनिधिसभामा सीमा बारे दिएको अभिव्यक्ति निन्दनीय र घोर आपत्तिजनक रहेको टिप्पणी गरेका छन् ।

सोमबार कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा रुपन्देहीको मणिग्राममा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेनको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको नेपाली कांग्रेस पार्टीले यसको सम्पूर्ण रूपमा विरोध गर्ने सभापति थापाले बताए ।

प्रधानमन्त्री शाहमा सामान्य राजनीतिक संस्कार र कुटनीतिक सुझबुझ नभएको प्रष्ट भएको सभापति थापाले टिप्पणी गरे ।

सीमा विवादजस्तो संवेदनशील विषयमा देशहरूका निश्चित अडान हुने भन्दै उनले देशका आफ्नै अडान हुने, त्यसका पछाडि केही प्रमाण र कथन हुने भन्दै सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्तिले त्यसलाई कमजोर बनाएको दाबी गरे ।

छिमेकीसँग कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने सम्भावनालाई प्रधानमन्त्री बालेनको अभिव्यक्तिले क्षीण बनाएको उनको भनाई थियो ।
लुम्बिनी प्रदेशस्तरीय प्रदेश तथा स्थानीय तहका पार्टी पदाधिकारी तथा जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत, अपरिपक्व र अराजनीतिक भएको टिप्पणी गरे । “हाम्रो देशले पनि अरूको सिमाना मिचेको छ भन्ने जस्तो राष्ट्रघाती अभिव्यक्तिमा समर्थन जनाउन सांसदहरूलाई जनताले संसदमा पठाएका होइनन्,” उनले भने, “त्यसका विरुद्ध बोल्न र जवाफदेही बनाउन मतदाताहरूले दबाब दिनुपर्छ ।”

प्रधानमन्त्रीले नबुझी बोलेको भए चिन्ताजनक र बुझेरै बोलेको भए झन् खतरनाक हुने टिप्पणी गर्दै सभापति थापाले उक्त अभिव्यक्तिले नेपाली जनताको शिर निहुरिएको बताउनुभयो। उहाँले प्रधानमन्त्रीलाई तत्काल संसदमा गएर आफ्नो अभिव्यक्ति फिर्ता लिन र जनतासँग माफी माग्न सुझाव दिए । “सरकारले राम्रो काम गर्दा सघाउने र गलत काम गर्दा खबरदारी गर्ने वा सच्याउन बाध्य पार्ने प्रतिपक्षको धर्म हो, र त्यो जिम्मेवारी काँग्रेसले निर्वाह गर्छ,” सभापति थापाले भने । प्रधानमन्त्री शाहलाई यस विषयमा माफी नमागी जनताले नछाड्ने उनको दाबी थियो ।

सभापति थापाले संसदबाट जबरजस्ती प्रतिनिधि सभा नियमावली २०८३ पारित गरिएको भन्दै त्यसप्रति पनि कडा आपत्ति जनाए । सभामुख र सत्तारुढ दलले यस विषयमा पुनर्विचार नगरे अदालत जाने संकेत गर्दै उहाँले उक्त घटनालाई संसदीय इतिहासकै कालो दिनको संज्ञा दिए ।

पार्टीको आन्तरिक विषयमा बोल्दै उहाँले आगामी निर्वाचनमा उम्मेदवार बन्न नेताहरूलाई रिझाएर होइन, कार्यकर्तालाई विश्वासमा लिएर अघि बढ्नुपर्ने स्पष्ट पारे । क्रियाशील सदस्यता अध्यावधिकको मुख्य उद्देश्य उम्मेदवार छनोट प्रक्रियामा क्रियाशील सदस्यहरूको मतलाई आधार बनाउनु रहेको उनले बताए ।
“सम्बन्धित पदका लागि कुन व्यक्ति उपयुक्त हुन्छ भनेर हामी सर्वेक्षण गर्नेछौं र त्यसैका आधारमा उम्मेदवार चयन गर्नेछौं,” उनले भने, “अध्यावधिकको मुख्य उद्देश्य पनि यही हो।”

सभापति थापाले भ्रातृ संस्थाहरूको अधिवेशन प्रक्रिया तीव्र गतिमा अघि बढेको जानकारी दिँदै आगामी चैतभित्र सबै भ्रातृ संगठनहरूको महाधिवेशन सम्पन्न गर्ने गरी तयारी भइरहेको बताए । पार्टीको औपचारिक संरचनाभन्दा बाहिर रहेका व्यक्तिहरूलाई पनि समेट्ने कार्यक्रम ल्याइने उनले जानकारी दिए । “मैले तपाईंहरूको शिर निहुरिन नदिने अठोट गरेको छु, तर त्यसका लागि तपाईंहरूको साथ चाहिन्छ,” उनले भने । चार पुस्तालाई समेट्दै सबै वर्ग र समुदायलाई साथ लिएर अघि बढ्नुपर्ने भएकाले केही कमी–कमजोरी भए पनि सिक्दै र सुधार्दै अगाडि बढ्ने उनको भनाइ थियो ।
एक वर्ष राम्रोसँग काम गर्न सके चुपचाप पार्टी छोडेर गएकाहरू हल्ला गरेर फर्किने सभापति थापाले दाबी गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधामन्त्री बालेन शाहले सीमासम्बन्धी दिएको अभिव्यक्ति गम्भीर र आपत्तिजनक भएको बताए ।

उनले आफ्नै देशको संसद्मा उभिएर मेरो देशले छिमेकीको सीमा मिचिएको छ भन्ने प्रधानमन्त्री बालेन एक्लो भएको टिप्पणी गरे ।

र्कायक्रममा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे,सहमहामन्त्री गोजिन्द चौधरी,नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन,नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा पुर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी,कांग्रेस लुम्बिनीका नेता भुवनप्रसाद श्रेष्ठलगायतले नेपाली कांग्रेसको जरा अभियान,क्रियाशील सदस्यता अद्यावधिक र पार्टीको आगामि कार्यभार बारे आ आफ्नो भनाई राखेका थिए ।

लुम्बिनी प्रदेशका नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूकाे सहभागीता रहेको कार्यक्रम मंगलबारसम्म सञ्चालन हुने जनाइएको छ ।