बुटवल,१८ जेठ ।
रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले आफ्नो पहिलो जिल्ला अनुदान कार्यक्रम अन्तर्गत सञ्चालित ‘ह्याप्पी स्कूल परियोजना’ मार्फत रुपन्देहीको तिलोत्तमा नगरपालिका–कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयमा चिल्ड एन्ड प्युरिफाइड वाटर डिस्ट्रीब्युसन सिस्टम विद्यालयलाई हस्तान्तरण गरेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई चिसो,प्रशोधित, शुद्ध तथा पर्याप्त पिउने पानी उपलब्ध गराउने उद्देश्यले १२० लिटर र ८० लिटर क्षमताका दुई वटा मेसिन जडान गरिएको क्लबले जनाएको छ । उक्त प्रणालीले विद्यालयका विद्यार्थी तथा शिक्षकहरूलाई सुरक्षित पिउने पानी उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

आइतबार आयोजित हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि तथा रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट रोट्रयाक्ट रिप्रेजेन्टेटिभ दिनेश गैरेले सामाजिक क्षेत्रमा गरिने साना–साना प्रयासहरूले पनि समुदायमा ठूलो र दीर्घकालीन प्रभाव पार्न सक्ने बताए । उनले विगतका वर्षहरूको तुलनामा यस वर्ष धेरै प्रभावकारी तथा समुदायमुखी परियोजनाहरू सञ्चालन भइरहेको उल्लेख गर्दै रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताए ।

रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष आबिष्कार खनालले विद्यालयमा जडान गरिएका उपकरणहरूको सही सदुपयोग गर्न आग्रह गर्दै विद्यार्थीहरूको स्वास्थ्य तथा अध्ययन वातावरण सुधारमा यस परियोजनाले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले क्लबले आगामी दिनमा पनि शिक्षा,स्वास्थ्य तथा सामुदायिक विकाससँग सम्बन्धित कार्यक्रमहरूलाई निरन्तरता दिने बताए ।

विद्यालयका प्रधानाध्यापक बेदनारायण भट्टराईले विभिन्न सामाजिक संस्था तथा दातृ निकायहरूको सहयोगले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा महत्वपूर्ण टेवा पुगिरहेको बताउँदै रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनप्रति आभार व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष बाला घिमिरेले विद्यालयको आवश्यकता पहिचान गरी चिसो तथा शुद्ध पिउने पानीको व्यवस्था गरिदिएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन हुने अपेक्षा व्यक्त गरिन् ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष तथा रोटरि क्लब अफ बुटवल डाउनटाउन का अध्यक्ष बाबुराम बञ्जाडेले रोटरी तथा रोट्रयाक्टले विद्यार्थी तथा शिक्षा क्षेत्रको विकासका लागि निरन्तर काम गर्दै आएको बताए । क्लबका उपाध्यक्ष विकास टण्डनको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन क्लबका सचिव केशव पौडेलले गरेका थिए ।

उक्त कार्यक्रम पश्चात रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको ३४७औँ नियमित बैठक तथा डिस्ट्रिक्ट रोट्रयाक्ट रिप्रेजेन्टेटिभको आधिकारिक भ्रमण कार्यक्रमसमेत सम्पन्न भएको जनाइएको छ ।