बुटवल,१८ जेठ ।
दाङको तुलसीपुरमा टिप्परको ठक्करबाट २ जनाको मृत्यु भएको छ । रा. १ ख. २१९२ नम्बरको टिप्परले रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई सोमबार बिहान साढे ५ बजेतिर गुल्म चोकमा ठक्कर दिदा २ जनाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार मोटरसाइकल चालक लमही-५ का ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराजको उपचारको क्रममा मृत्यु भएको हो ।
नेपालगन्जस्थित सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेजमा बिहान ९ः४० बजे मिनराज र १० बजे बजे मनोजलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
तीन जना सवार मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मृतक मनोजकी श्रीमती ३४ वर्षीया अनुसा नेपाली घाइते भएकी छन् । उनको उपचार भइरहेको डिएसपी पराजुलीले जानकारी दिए ।
प्रहरीका अनुसार मनोजको परिवार विदा परेकाले तुलसीपुर-६ स्थित ससुराली गएको थियो । ‘सोमबार विदा सकिएकाले छोरालाई विद्यालय पठाउनुपर्ने भएकाले उहाँहरु बिहानै घर हिँड्नु भएको रहेछ । हिँडेको केही बेरमै दुर्घटनामा पर्नुभएछ ।’ डिएसपी पराजुलीले भने ।
दुर्घटना लगतै गम्भीर घाइते बाबु छोरालाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रेफर गरिएको थियो । प्रहरीका अनुसार सुरुमा छोरालाई र त्यसपछि बाबुलाई बाँकेको नेपालगञ्ज पठाइएको भएपनि ज्यान भने जोगिन सकेन ।
दुर्घटनापछि टिप्पर चालकलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिए ।






