बुटवल,१७ जेठ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रूपन्देहीकाे आयोजना र बुटवल उपमहानगरपालिकाकाे सहकार्यमा बुटवलमा आजदेखि आदिवासी जनजाति तथा सीमान्तीकृत समुदायका पत्रकारहरूकाे क्षमता विकास तालिम सुरु भएको छ ।

तालिमको आइतबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख पाण्डेयले सुचना प्रविधिमा आएको तिब्र विकाससँगै पत्रकारहरूका लागि अवसर र चुनाैति दुवै देखापरेको भन्दै प्रविधिकाे सहि उपयोग गर्नुपर्नेमा जाेड दिए ।

पछिल्लो समय समाज रूपान्तरण गर्ने भन्दा पनि समाचारमा लाइक र भ्युजका पछाडि लाग्ने प्रबृत्ति देखिएको भन्दै नगर प्रमुख पाण्डेयले भ्युज बढाउने भन्दा पनि समाजका लागि उपयोगी सामाग्री प्रकाशन प्रसारण गर्ने पत्रकारिता आजको आवश्यकता भएको बताए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष मीन रानाकाे सभापतित्वमा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा फाेनिजका केन्द्रीय सचिव मिलन गाहा,नेपाल मगर संघ रूपन्देहीका अध्यक्ष थर्कबहादुर बारघरे,आदिवासी जनजाति पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष राज चाैधरी,सचिव आकृति थापा मगरलगायतले तालिमको उपयोगीता बारे आ आफ्नो भनाइ राखेका थिए ।

दस दिनसम्म सञ्चालन हुने तालिममा फाेटाेग्राफि,एआईकाे प्रयोगलगायतका बिषयमा प्रशिक्षण दिइने अध्यक्ष रानाले जानकारी दिए ।