काठमाडौं,१७ जेठ ।
एसियन गेम्स क्वालिफायर्समा विजयी सुरूवात गर्दै नेपालले चीनलाई २२१ रनको विशाल अन्तरले हराएको छ । क्रिकेटको सिकारु राष्ट्र चीनलाई नेपालले बलिङ र ब्याटिङको पाठ पढायो ।
सिंगापुरको राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले चीनलाई २२१ रनले हरायो । जितका लागि तीन सय १४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा सबै विकेटको क्षतिमा ९२ रनमा समेटिएको थियो ।
चीनका लागि शेन्जियान झेङले सर्वाधिक ३१ रन बनाउनुभयो । डु जियान हाउले १७ र कप्तान टेन सेन कुनले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
चीनलाई निराश बनाउन बलिङमा नेपालका कुशल मल्लले तीन विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई तथा नन्दन यादवले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा तीन सय १३ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले शतक तथा कुशल मल्ल र रोहित पौडेलको अर्धशतक प्रहार गर्नुभयो । कुशलले ४३ बलमा पाँच चौका र १६ छक्काको सहयोगमा एक सय २९ रन बनाए ।
उहाँले खेलको नवौँ ओभरमा ६ छक्का हान्दै एउटै ओभरमा ३७ रन बनाए । कुशल मल्लले ४७ बलमा ८५ र रोहित पौडेल २१ बलमा अविजित ६९ रन जोडे ।
नेपालले टी-२० क्रिकेटमा बनाएको यो सर्वाधिक दोस्रो योगफल हो । यसअघि नेपालले गत एसियन गेम्समा मंगोलियाविरुद्ध तीन सय १४ रनको योगफल बनाएको थियो । बलिङमा चीनका मा कुइनचेन र डेङ्ग जिङ्कीले एक एक विकेट लिए ।
पहिलो जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । जुन ८ तारिखसम्म हुने छनोट खेलमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा मलेसिया र चीन छ ।
समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिंगापुर रहेको छ । समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनोट हुनेछन् ।







