बुटवल,१६ जेठ ।
भारतकाे उत्तर प्रदेश स्थित कुशीनगर क्षेत्रबाट उद्धार गरिएका ४५३ नेपालीलाई रुपन्देही ल्याएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उद्धार गरिएकामध्ये करिब १०० जना महिला रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) जनकबहादुर शाहीले जानकारी दिए । घटनाको अनुसन्धानका क्रममा शंकास्पद ९ जनालाई नियन्त्रणमा लिएकाे प्रहरी उपरीक्षक शाहीले बताए ।

भारतस्थित नेपाली दूतावास र भारतीय प्रहरीको समन्वयमा कुशीनगर क्षेत्रको नेकवर्किङ बिजनेसको कार्यालयबाट शुक्रबार राति उनीहरूलाई उद्धार गरिएको थियो ।

उद्धार गरिएका सबैलाई शनिबार बेलहिया नाका हुँदै रुपन्देही पुर्‍याएर जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा राखिएको छ । अहिले उद्धार गरेर ल्याइएकामध्ये कति जना पीडित र कति जना पीडक ? भन्ने छुट्याउने क्रम चलिरहेको प्रहरीले जनाएको छ ।

कुशीनगरमा लुम्बिनी प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका युवायुवतीलाई जागिर दिने भन्दै २५ सय देखि ५ हजार रकम लिएर फारम भराउने,तालिमवापत पनि रकम लिने गरेको पाइएको छ ।

यस्तै कतिपयलाई न्यून तलबमा रोजगारी दिएर अधिकांशलाई जागिरको आश्वासनमा अल्झाएर बन्धक बनाएर राख्ने गरेको उजुरीका आधारमा कुशीनगर पुगेर उद्धार गरिएको रूपन्देही एसपी शाहीले बताए ।

कुशीनगरमा बन्धक जस्तै बनाएर राखी फिरौती रकमसमेत माग गरिएको भन्दै पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी परेपछि ६ महिनासम्म अध्ययन पश्चात उत्तर प्रदेश र कुशीनगर प्रहरीसँगै लुम्बिनी प्रदेश प्रहरीसँगकाे समन्वयमा उद्धार गर्न सफल भएकाे उनलेे बताए । छानबिनपछि पीडितलाई आफन्तको जिम्मा लगाउने र पीडकमाथि थप अनुसन्धान गरिने उनको भनाइ छ ।

उद्धार गरिएका नेपालीसँगैं दूतावासका कर्मचारी पनि रुपन्दही आएका छन् । नेपाली दूतावासका मिनिस्टर कन्सुलर अम्विका जोशीले नेटवर्किङ बिजनेसका कारण पीडित बनेका व्यक्तिको गुनासोका आधारमा लामो समय अध्ययन गरेपछि नेपालीको उद्धार गरिएको बताए ।

नेटवर्किङ बिजनेसका सञ्चालक र पीडित दुवै नेपाली नै पाइएको प्रहरीले जनाएको छ ।

किन इण्डिया संस्थाका नवीन जोशीले एउटै कोठामा १५–१६ जनासम्म सुताइएको र गर्मीमा राहत पुग्ने कुनै आधार नरहेको एसपी शाहीले बताए ।

गिरोहले नेपालबाट आकर्षक जागिरको प्रलोभन देखाएर सुनौली हुँदै कुशीनगर पुर्‍याएको खुलेको छ ।

त्यहाँ प्रति व्यक्ति ७ हजार भारतीय रूपैयाँदेखि एक लाखसम्म रकम असुल गरेर सदस्यता विस्तार गर्दै नेटवर्किङ व्यवसायको शैलीमा सदस्यता विस्तार गर्दै लैजाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जागिरको प्रलोभनमा त्यहाँ पुर्‍याइएका युवायुवतीलाई एक समूहले तालिम दिने र अर्को समूहले सदस्यता शुल्क लिएर सदस्य बिस्तारमा लगाउने गरेको बताइएको छ ।