बुटवल,१६ जेठ ।
भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट उद्धार गरिएका ४ सय ५३ नेपालीलाई जिल्ला प्रहरी कार्यालय,रुपन्देही ल्याइएको छ । उनिहरूलाई बेलहिया नाका हुँदै जिल्ला प्रहरी कार्यालय रूपन्देही ल्याएर कति जना पीडित र कति जना पीडक हाे भनेर छुट्याउन छानबिन थालिएको प्रहरीले जनाएको छ । भारतबाट आठ वटा बसमा सिधैं जिल्ला प्रहरी पुर्याइएका उनीहरुलाई पालैपालो बसबाट उतारेर अनुसन्धान भइरहेको छ ।

उनिहरूलाई शनिवार मध्यान्ह कुशीनगरबाट बेलहिया नाका हुँदै नेपाल ल्याइएको थियो ।

भारतस्थित नेपाली दूतावासको पहल र समन्वयमा नेकवर्किङ विजनेशको कार्यालयबाट उनीहरुलाई उद्धार गरिएको थियो । उद्धार गरिएका नेपालीसँगैं दूतावासका कर्मचारी पनि रुपन्देही आएका छन् । नेपाली दूतावासका मिनिस्टर कन्सुलर अम्बिका जोशीले नेटवर्किङ मार्केटिङका कारण पीडित बनेका व्यक्तिको गुनासोका आधारमा लामो समय अध्ययन गरेपछि नेपालीको उद्धार गरिएको जानकारी गराए ।

दूतावासका काउन्सेलर पब्लिक अफेयर्स नेपाल प्रहरीका एसएसपी प्रकाश मल्लले ६ महिनासम्म अध्ययन गरेपछि उत्तर प्रदेश र कुशीनगर प्रहरीसँगै लुम्बिनी प्रदेश प्रहरीसित समन्वयमा उद्धार कार्य सफल तुल्याइएको बताए । उद्धार कार्यमा किन इण्डिया संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए । मनग्गे कमाई हुने प्रलोभन देखाएर नेटवर्किङ मार्केटिङमा लगाउने र पछि आफूले भने बमोजिम नभएमा त्यहाँ पुगेका युवालाई मानसिक तनाव दिने गरेको उनले बताए । यसका सञ्चालन कर्ता र पीडित दुबै नेपाली पाइएको उनले बताए । खासगरी सीमाबाट नजिक रहेका भारतीय सहरमा यस्तो काम भइरहेको उनले बताए ।

किन इण्डिया संस्थाका नवीन जोशीले उक्त संस्थामा आवद्ध नेपालीको अवस्थाबारे पटकपटक रेकी गरेपछि मात्र उद्धार गरिएको बताए । एउटैं कोठामा १५–१६ जना सम्म सुताइएको र गर्मीमा राहत पुग्ने कुनै आधार नरहेको उनले बताए ।

सञ्चालकको चाहना अनुसार नभएको खण्डमा मानसिक दबाब दिएर पीडित तुल्याउने गरेको उनले बताए । उक्त संस्थाबाट उम्किएका व्यक्तिको गुनासोपछि उद्धारका लागि पहल गरेको बताए ।

यसअघि आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर नेपालीहरूकै एक गिरोहले नेपालका विभिन्न जिल्लाका युवायुवतीलाई कुशीनगर पुर्याएर बन्धक बनाइरहेको सूचना पाएपछि लुम्बिनी प्रदेश र रूपन्देही प्रहरीले अपरेसन सुरू गरेको थियो । नेपाल प्रहरीको अपरेसनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि महत्वपूर्ण सहयोग गरेकाे बताइएको छ । गिरोहले नेपालबाट आकर्षक जागिरको प्रलोभन देखाएर सुनौली हुँदै कुशीनगर पुर्याउने र त्यहाँ प्रति व्यक्ति ७ हजार भारतीय रूपैयाँदेखि १ लाखसम्म रकम असुल गरेर सदस्यता बिस्तार गर्दै नेटवर्किंङ व्यवसायको शैलीमा सदस्यता बिस्तार गर्दै लैजाने गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

कुशीनगरमा लुम्बिनी प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका गरी कम्तीमा एक हजार युवायुवतीलाई लगेर बन्दी बनाइएको सूचना प्राप्त गरेको रूपन्देही प्रहरी प्रमुख जनकबहादुर शाहीले बताए ।

कुशीनगरमा बन्धक बनाएर फिरौती रकमसमेत माग गरिएको भन्दै पीडितका आफन्तले ईलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

जागिरको प्रलोभनमा त्यहाँ पुर्याइएका युवायुवतीलाई एक समूहले तालिम दिने र अर्को समूहले सदस्यता शुल्क लिएर सदस्य बिस्तारमा लगाउने गरेको बताइएकाे छ ।

प्रहरीले पीडितलाई आफन्तको जिम्मा लगाउने र पीडकमाथि थप अनुसन्धान गरिने जनाएको छ ।