पाल्पा,१४ जेठ ।
निजी स्वास्थ्य संस्थाबाट आकस्मिक बाहेक अन्य सेवा स्थगित गर्ने स्वास्थ्य बीमा बाेर्डकाे निर्णय फिर्ता लिन पाल्पामा क्रियाशील विभिन्न राजनीतिक दलहरूले माग गरेका छन् ।

पाल्पामा क्रियाशील नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा,राष्ट्रिय जनमाेर्चा लगायतका दलहरूले बिहीबार निजी स्वास्थ्य संस्थाबाट आकस्मिक बाहेक अन्य स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने बाेर्डकाे निर्णय फिर्ता लिन माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत सरकार समक्ष ज्ञापनपत्र बुझाएका हुन् ।

स्वास्थ्य बीमा अन्तर्गत निजी स्वास्थ्य संस्थाबाट आकस्मिक बाहेक अन्य सेवा बन्द गर्ने निर्णयप्रति आफुहरूकाे गम्भीर ध्यानाकर्षण भएको भन्दै उनिहरूले यस्तो निर्णयले विशेषगरी निम्नवर्ग,श्रमिक, किसान,ज्येष्ठ नागरिक तथा ग्रामीण भेगका नागरिकको स्वास्थ्य सेवामा प्रत्यक्ष असर पर्ने चिन्ता ब्यक्त गरेका छन् ।

जनताको सहज र सुलभ स्वास्थ्य सेवामाथि असर पार्ने निर्णय तत्काल फिर्ता लिन नेपाल सरकारसँग जोडदार माग गर्दै दलहरूले जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा सरकार थप जिम्मेवार र संवेदनशील बन्न आवश्यक रहेकोमा जाेड दिएका छन् ।