काठमाडौँ,१४ जेठ ।
एसियन गेम्स महिला छनोटमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा इन्डोनेसियामाथि चार विकेटको जित निकाल्दै नेपाल अपराजित रहेर अन्तिम चारमा पुगेको हो । दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘बी’को शीर्ष स्थानमा रहेर सेमिफाइनल यात्रा तय गरेको हो ।

एक खेलमा जित र एक खेलमा हार भोगेको चीन दुई अंकमा दोस्रो स्थानमा रहेर सेमिफाइनल पुगेको छ । अंकविहीन इन्डोनेसिया समूह चरणबाटै बाहिरिएको छल ।

समूह ‘ए’बाट थाइल्यान्ड चार अंकसहित शीर्षस्थानमा रहेर सेमिफाइनल पुगेको छ । एक खेलमा जित र एक खेलमा हार भोगेको घरेलु टोली मलेसिया दुई अंकसहित दोस्रो स्थानमा रहेर अन्तिम चारमा पुगेको छ । यो समूहबाट हङकङ बाहिरिएको छ ।

बिहीबार इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपाली टोलीले तीन बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि कप्तान इन्दु बर्मा ४२ रनमा अविजित रहिन् । सोनी पाख्रिनले २९ र कविता कुवँरले १४ रन थपे। सीता रानामगर १३ रनमा नटआउट रहिन् ।

मलेसियाको वायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा ११३ रनको योगफल तयार पारेको थियो । नेपालकी मनिषा उपाध्यायले दुई र रिया शर्माले एक विकेट लिइन् ।

इन्डोनेसियाकी कप्तान नि पुतु आयु नन्द सकरिनी ५६ रनमा अविजित रहिन् । नि लुह देवी २३ र नी मेड पुत्री सुवान्देवीले १३ रन बनाइन् ।