बुटवल,११ जेठ ।
बुटवल उपमहानगरपालिका राेजगार प्रवर्द्धन शाखाद्वारा सञ्चालित सुरक्षित आप्रवाशन (सामि) कार्यक्रम अन्तर्गत २१ हप्ताको वित्तीय साक्षरता र मनाेसामाजिक परामर्श कक्षा साेमबार समापन भएको छ ।
समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रा देवी अर्यालले बुटवल उपमहानगरपालिकाले विभिन्न खाले सीपमूलक तालिमका साथै विदेशमा मजदुरी गर्ने श्रमिकका परिवारलाई विदेशबाट पठाएको रकम कसरी सदुपयोग गर्ने भन्ने बिषयमा वित्तीय साक्षरता तथा मनाेसामाजिक परामर्श कक्षा सञ्चालन गरेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवाली,राेजगार प्रवर्द्धन शाखा प्रमुख अरविन्द पाण्डेयलगायतले पैसा कमाउनु मात्रै ठूलो कुरा नभएर त्यसको सहि सदुपयोग गर्नु महत्वपुर्ण बिषय भएको भन्दै तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जाेड दिए ।
साे अवसरमा प्रशिक्षार्थी एलिना आचार्य खड्का,चम्पा दर्लामी,बेनुकला बस्याल,कमला ज्ञवाली, प्रतिमा खनाल,राधा ज्ञवालीलगायतले तालिम अत्यन्तै उपयोगी भएको भन्दै तालिमले पैसाकाे कसरी सही सदुपयोग गर्ने भन्ने ज्ञान हाशील हुनुका साथै पहिला मनपरि खर्च गर्थ्याै भने अहिले सामान्य खर्च चलाउन आफै कमाउनुपर्छ भन्ने मानसिकता विकास भएको बताए ।
तालिममा वैदेशिक राेजगारीमा रहेका परिवारका सदस्य तथा विभिन्न सहकारी एवम् टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरू गरि १४५ जनाको सहभागीता रहेको बुटवल उपमहानगरपालिकाका राेजगार प्रवर्द्धन शाखा प्रमुख पाण्डेले जानकारी दिए ।







