दाङ,१० जेठ ।
लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी, नतिजामुखी र व्यवहारिक बनाइने बताएका छन् ।
आइतबार बसेको लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत पाँचौं बैठकमा‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक,२०८३ का सिद्धान्त र प्राथमिकता’माथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री कार्कीले प्रदेशको आवधिक योजनाले निर्दिष्ट गरेका संकल्प र प्रदेशसभा सदस्यहरुले दिएका सुझावका आधारमा बजेट निर्माण गरिने बताएका हुन् ।
उनले पर्यटन, उद्योग र रोजगारीलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने बताउँदै पूँजी तथा प्रविधिको विस्तारमा विशेष जोड दिइने जानकारी दिए । कृषि क्षेत्रको आधुनिकीकरण, प्राङ्गारिक उत्पादन प्रवद्र्धन तथा उत्पादनमा विविधीकरणमार्फत रोजगारी र आयआर्जन सिर्जना गर्ने नीति सरकारले लिएको उनको भनाइ थियो ।
मन्त्री कार्कीले बजेटलाई प्रभावकारी र कार्यान्वयनयोग्य बनाउने विषय सबैको साझा सरोकार भएको उल्लेख गर्दै कार्यान्वयनमा नवीनता ल्याइने बताए ।
बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राखेका थिए । विशेष समयमा प्रदेश सभा सदस्य बैजनाथ कलवार, दिल कुमारी बुढा, तारा थापा, रेवती गुरुङ,चन्द्रकेश गुप्ता, मिना बुढा मगर, शान्ति लोध, मिना कुमारी श्रेष्ठ, मधुसुदनशरण चौधरी/कुर्मी, सुरुल पुन तथा बसन्ती न्यौपानेले विभिन्न विषयमा धारणा राखेका थिए ।
छलफल सम्पन्न भएपछि सभामुख तुलाराम घर्तीमगरले‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’माथिको छलफल समाप्त भएको घोषणा गरे ।
प्रदेशसभाको अर्को बैठक जेठ ११ गते सोमबार दिउँसो १ बजे बस्ने छ ।






