बुटवल,१० जेठ ।
नेपाल भ्रमणमा रहेकी बेलायतकी इण्डो प्यासिफिक मामिला मन्त्री सीमा मल्होत्राले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन् । उनले शनिबार लुम्बिनी र तिलौराकोटको भ्रमण गरेकी हुन् । मन्त्री मल्होत्रालाई लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राइले यहाँका सम्पदा र बुद्धस्थलको महत्वको बारेमा जानकारी गराएका थिए ।

उनले लुम्बिनी विकास कोष र बेलायतको दुरहाम बिश्वविद्यालयले गरेको पुरातात्वीक अध्ययन र अनुसन्धानको बारेमा चासो राइले बताए । भ्रमणको क्रममा लुम्बिनीको थप बैज्ञानिक अध्ययन र अनुसन्धानमा लुम्बिनी विकास कोषसँग सहकार्य गर्ने बेलायती मन्त्री सीमा मल्होत्राले बताएकी थिइन् ।

बेलायती मन्त्रीको यो भ्रमणले नेपालको बौद्ध सम्पदा, शान्ति कूटनीति र नेपाल र संयुक्त अधिराज्य बीचको सांस्कृतिक सम्बन्धमा थप सघाउ पुर्याउने लुम्बिनी विकास कोषले जनाएको छ । भ्रमणबाट मित्रता, सम्पदा सहयोग र शान्ति, संस्कृति र दिगो पर्यटनप्रति साझा प्रतिबद्धतालाई सुदृढ बनाउने आशा गरिएको छ ।