बुटवल,७ जेठ ।
बुटवलमा अस्पतालजन्य फोहर प्रशोधन केन्द्र सञ्चालनमा आएको छ ।

बुटवल उपमहानगरपालिकाले अस्पतालजन्य फोहरको वैज्ञानिक व्यवस्थापनका लागि अत्याधुनिक फोहर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो । बुटवल उपमहानगरपालिका वडा नं. १३ बेलबासमा स्थापना गरिएको केन्द्रको बिहीबार एक कार्यक्रमकाबीच नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।

केन्द्रकाे उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले अस्पतालजन्य फोहर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा प्रशोधन केन्द्र सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धि भएको बताए । हाललाई बुटवलका १९ वटा शहरी स्वास्थ्य केन्द्रबाट निस्कने फोहर प्रशोधन गरिने र आगामी दिनमा जिल्लाभरका स्वास्थ्य संस्थाको फोहर व्यवस्थापन गर्ने योजना रहेको उनलेे जानकारी दिए ।

उनका अनुसार अस्पतालबाट निस्किने फोहरमध्ये करिब ८० प्रतिशत फोहर प्रशोधन केन्द्रमै नष्ट गरिनेछ भने बाँकी २० प्रतिशत मात्रै डम्पिङ साइटमा पठाइनेछ । “अस्पतालजन्य फोहरको सुरक्षित व्यवस्थापनले संक्रमण नियन्त्रणसँगै वातावरण संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ,” उनले भने ।

प्रतिघण्टा २५ केजी फोहर प्रशोधन क्षमता रहेको मेसिनमार्फत संकलित स्वास्थ्यजन्य फोहर उच्च तापक्रममा जलाएर खरानीमा परिणत गरिने जनाइएको छ । यसले संक्रमण फैलिन सक्ने जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

नगर प्रमुख पाण्डेयले अत्याधुनिक स्वास्थ्यजन्य फोहर व्यवस्थापन मेसिन सञ्चालनमा आउनु मानव स्वास्थ्य, वातावरण संरक्षण तथा व्यवस्थित फोहर व्यवस्थापनका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै सबै स्वास्थ्य संस्थासँग समन्वय गरेर फोहरको वैज्ञानिक व्यवस्थापनलाई नियमित र प्रभावकारी बनाइने बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले उपमहानगरपालिका क्षेत्रभित्र रहेका १०० बेडभन्दा माथिका अस्पताल तथा अन्य साना स्वास्थ्य संस्थालाई पनि यस्तै प्रकारका फोहर प्रशोधन मेसिन जडान गर्न आग्रह गरिन् । उनले स्वास्थ्य संस्थाहरूले फोहर व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले सोझै डम्पिङ साइटमा लैजान नमिल्ने अस्पतालजन्य फोहरलाई प्रशोधन केन्द्रमा ल्याएर सुरक्षित रूपमा व्यवस्थापन गरिने बताए ।

प्रशोधनपछि मात्रै बाँकी फोहर डम्पिङ साइटमा पठाइने जानकारी दिँदै उनलेे यो प्रविधिले बुटवललाई स्वच्छ र स्वस्थ वातावरण कायम गर्न उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे । साथै बुटवलमा रहेका निजी स्वास्थ्य संस्थाबाट निस्किने अस्पतालजन्य फोहर व्यवस्थापनका लागि उपमहानगरपालिकाले छिट्टै विशेष योजना ल्याउने तयारी गरिरहेको उनलेे बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले अस्पतालजन्य फोहरको सुरक्षित व्यवस्थापनले नागरिक स्वास्थ्य र वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्ने बताए । उनका अनुसार प्रशोधन केन्द्र सञ्चालनमा आएपछि बुटवल क्षेत्रमा स्वास्थ्यजन्य फोहरबाट हुने जोखिम न्यूनीकरण हुनुका साथै वातावरण संरक्षणमा दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ ।

त्यस अवसरमा न्यूस्टर कम्पनीका प्रतिनिधि उमंग लामिछानेले आधुनिक प्रविधिमा आधारित फोहर प्रशोधन प्रणालीले अस्पतालजन्य फोहर व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र वातावरणमैत्री बनाउने बताए । उनले स्वास्थ्य संस्थाबाट निस्कने जोखिमयुक्त फोहरको वैज्ञानिक व्यवस्थापन आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता प्रविधिको प्रयोगले दीर्घकालीन रूपमा मानव स्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे ।

बुटवल उपमहानगरपालिकाभित्र करिब एक हजार स्वास्थ्य संस्था सञ्चालनमा रहेको अनुमान गरिएको छ । ती संस्थाबाट दैनिक ठूलो परिमाणमा अस्पतालजन्य फोहर निस्कने भएकाले यसको उचित व्यवस्थापन नहुँदा मानव स्वास्थ्य तथा वातावरणमा गम्भीर असर पर्ने जोखिम रहेको छ ।

बुटवल उपमहानगरपालिकाले अब स्वास्थ्य संस्थासँग समन्वय गरी फोहरको वर्गीकरण, संकलन तथा एकीकृत व्यवस्थापनलाई नियमित र प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ ।