बुटवल,२३ बैशाख ।
बुटवल उपमहानगरपालिकाले युवा लक्षित रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत ग्राफिक डिजाईनिङ,एकाउन्टिङ तथा अफिस टुल्स सम्बन्धी तालिमको औपचारिक शुभारम्भ गरेको छ ।

तालिमको बुधबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गरेका हुन् ।

साे अवसरमा बोल्दै नगर प्रमुख पाण्डेयले सीपमूलक तालिमले युवाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले सिकेको सीपलाई व्यवहारमा उतार्न सकेमा पालिकाले रोजगारको अवसर सिर्जना गर्न आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

युवाहरूलाई समयको सदुपयोग गर्दै ध्यानपूर्वक तालिम लिन आग्रह गर्दै उनले अहिलेको प्रतिस्पर्धी युगमा केवल शैक्षिक प्रमाणपत्र मात्र पर्याप्त नभई व्यवहारिक सीप अत्यावश्यक रहेको बताए । त्यसैले यस्ता तालिम कार्यक्रमहरूलाई गम्भीरतापूर्वक लिँदै सिकेको ज्ञानलाई रोजगारी र उद्यमशीलतामा प्रयोग गर्नुपर्नेमा जोड दिए । साथै, पालिकाले भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जानकारी दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्याल,ऋम तथा रोजगार शाखाका प्रमुख संयोजक अरबिन्द पाण्डेले प्रशिक्षार्थीहरूलाई ढुक्क भएर सीप सिक्न आग्रह गरे । उनिहरूले तालिममा सिकेका कुरा केवल सैद्धान्तिक रूपमा सीमित नराखी उत्पादनमूलक कार्यमा लगाउनुपर्नेमा जोड दिए । सीपले मात्रै दीर्घकालीन आयआर्जनको ढोका खोल्ने भएकाले प्रत्येक सहभागीले आफ्नो क्षमताको पूर्ण उपयोग गर्न उनिहरूले सुझाव दिए ।

कार्यक्रममा सहभागी युवाहरूले पनि यस्ता अवसर प्रदान गरेकोमा उपमहानगरपालिका प्रति आभार व्यक्त गरेका थिए । उनीहरूले यस्ता तालिमले आफ्नो भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सहभागीहरूले नगर प्रमुख तथा पालिकाले गरेको पहलको खुलेर प्रशंसा गर्दै यस्ता कार्यक्रमहरू अझै व्यापक बनाउन सुझाव दिए ।

यस्ता तालिमले स्थानीय युवाहरूलाई रोजगारीका नयाँ अवसरतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ । सीपमूलक तालिममार्फत युवाहरूलाई सक्षम बनाउँदै आत्मनिर्भर समाज निर्माण गर्ने लक्ष्यका साथ बुटवल उपमहानगरपालिका अघि बढिरहेको जनाइएको छ ।