बुटवल,२३ बैशाख ।
रुपन्देहीकाे भैरहवा स्थित क्यासिनोभित्र जुवा खेल्दै गरेका १९ नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा सम्बन्धित कार्यालयबाट खटिएको संयुक्त टोलीले आकस्मिक अनुगमनका क्रममा जुवा खेलाउने कार्यमा संलग्न ४ जान र जुवा खेलिरहेका १५ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार गएराती सिद्धार्थनगर नगरपालिका–१० स्थित रोयल कालिङ्गा क्यासिनोमा चेकजाँच गर्दा नेपाली नागरिकहरू जुवा खेलिरहेको अवस्थामा फेला परेका थिए । सो क्रममा नगद तथा अन्य सामग्रीसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस क्रममा प्रहरीले ९५ हजार ५ सय नगद, विभिन्न कम्पनीका १७ थान मोबाइल सेट तथा २०० थान क्यासिनो सिक्का बरामद गरेको छ ।

यसैगरी, जुवा खेलाउने कार्यमा संलग्न क्यासिनो व्यवस्थापकलाई समेत प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।