बुटवल,२२ बैशाख ।
पूर्ब पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैना नगरपालिका–५ मा पर्ने पुल भासिएपछि वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
इलाका प्रहरी कार्यालय,बुटवलका प्रमुख निशान्त श्रीवास्तवले निर्माणाधीन सडकमा पर्ने पुल मंगलबार दिउँसो भासिएकाे जानकारी दिए ।
पुल मर्मतका लागि ३ दिनदेखि एक सातासम्म लाग्ने भएकोले विकल्पको रूपमा सैनामैना–४ लुम्बिनी रोडको कुश्मा हुँदै बक्सडडाँडा भएर सोही ठाउँको केही अगाडि कलौनी जोड्ने डाइभर्सन बनाइएको उनलेे बताए छ ।
डाइभर्सन ३ किलोमिटर लामो रहेको उनको भनाइ छ । बुटवल गोरुसिंगे ५० किलोमिटर सडक विस्तारको क्रममा रहेको छ ।
जसले गर्दा सडकमा यात्रा गर्ने यात्रु र सवारीले सास्ती खेप्दै आएका छन् ।
सडकमा खाल्डाखुल्डी र अवरोध हुँदा पूर्वबाट पश्चिमतर्फ जाने गाडीहरू बुटवलबाट भैरहवा, लुम्बिनी, तौलिहवा हुँदै गोरुसिंगे निस्कने गरेका छन् ।
पश्चिमबाट पूर्व जाने गाडीहरू गोरुसिंगेबाट तौलिहवा, लुम्बिनी, भैरहवा हुँदै पूर्वतर्फ जाने गरेका छन् ।








