बुटवल,१३ बैशाख ।
भैरहवाकाे श्री संजय साई सेवा समूहले बुटवल उपमहानगरपालिका वडा नं ११ देविनगर स्थित नेपाल अपांग आश्रमलाई कुर्सी हस्तान्तरण गरेको छ ।
समूहले शनिबार एक कार्यक्रमकाबीच आश्रमलाई ३० थान प्लास्टिक कुर्सी प्रदान गरेको हो ।
कार्यक्रममा १००८ स्वामी शान्तानन्द सरस्वती महाराजजीले यस्तो पवित्र कार्य गर्न छाडेर धार्मिक कार्यका लागि अन्यत्र जानुको कुनै अर्थ नहुने भन्दै आश्रीतहरूकाे अनुहारमा खुसी ल्याउनु र उनिहरूकाे बन्दाेवस्तीकाे व्यवस्था मिलाउनु जस्तो ठूलो पुण्य अन्य कार्यबाट प्राप्त नहुने बताए ।
बुद्ध सामुदायिक टेलिभिजनका स्टेसन म्यानेजर महेन्द्र थापाले यस्ता पराेपकारी कार्यले समाजमा सकारात्मक प्रभाव पार्ने भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जाेड दिए ।
कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले यस्ता संस्थाहरूकाे संरक्षण गर्ने दायित्व तीनै तहका सरकारको भएको स्मरण गराउदै संजय साई सेवा समूहले सामाजिक उत्तरदायित्व वहन गरेकोमा प्रसंसा गरे ।
समूहका अध्यक्ष राजेन्द्र थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा
नेपाल अपांग आश्रमका अध्यक्ष डाेरबहादुर रामदाम,समूहका कार्यक्रम संयोजक भरत केसी,क्षेत्री समाज नेपाल तिलाेत्तमाका अध्यक्ष रूपा केसी,समूहका महासचिव कुमार केसीलगायतले कार्यक्रमकाे उदेश्य र औचित्यबारे आ आफ्नो भनाइ राखेका थिए ।








