बुटवल,१२ बैशाख ।
पाल्पाकी २९ बर्षिय गीता पाण्डेको मृत्यु प्रकरणमा उपचारमा संलग्न चिकित्सकबाट लापर्बाही भएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

घटना बारे छानबिन गर्न गठित नेपाल मेडिकल काउन्सिलले गठन गरेको समितिले शनिबार २६ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गर्दै उपचारमा गम्भीर त्रुटि रहेको निष्कर्ष निकालेको हो । समितिले डा. शतिस रुपाखेतीलाई कारवाही स्वरूप तत्कालका लागि निलम्बन गर्ने निर्णय समेत गरेको छ । यो कारबाहीपछि डा.रुपाखेतीले केही समय चिकित्सकीय काम गर्न नपाउने भएका छन् ।

त्यससँगै उपचारमा संलग्न जोनल हेल्थ क्लिनिक र इन्दुलेखा स्वास्थ्य क्लिनिकलाई पनि बन्द गराउन प्रहरी प्रशासनलाई पत्राचार गर्ने छानबिन समितिले निर्णय गरेको छ । बुटवलको घटनाले आमाहरू असुरक्षित हुनुहुन्छ भन्ने चित्रण गरेको काउन्सिलका रजिष्ट्रर डा. सतिशकुमार देवले बताए । अब मेडिकल काउन्सिलको बोर्डले मनिटरिङ गर्ने बताउँदै उनलेे यस्ता विकृति भए काउन्सिलमा जानकारी गराउन समेत अनुरोध गरेका छन् ।

निलम्बनमा परेका डाक्टर रुपाखेतीसहित ५ जनालाई मृतकका श्रीमान् प्रकाश पाण्डेको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरिसकेको छ । घटना पछि नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा बुधबार छानबिन समिति गठन गरिएको थियो ।

१२ हप्ताको गर्भ पतन गराउने क्रममा पाल्पा बगनासकाली-२ की गीताको बैशाख ६ गते मृत्यु भएको थियो । गर्भमा रहेको बच्चा असामान्य रहेको भन्दै शुरूमा बुटवलको खत्री नर्सिङ होम हुँदै जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकले गर्भपतन गराउने क्रममा उनको मृत्यु भएको थियो ।