काठमाडौँ,११ बैशाख ।
नेपाली कांग्रेसले सुकुम्बासी बल प्रयोग नगरी दीर्घकालीन समाधान खोज्नुपर्ने जनाएको छ ।
शुक्रबार बसेकाे कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सुकुम्बासीमाथि बल प्रयोग नगर्न सरकारसँग आग्रह गरेको हो । यसको दीर्घकालनी समाधान खोज्नुपर्ने जनाएको छ ।
बैठकपछि कांग्रेस प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यो कुनै एक दल वा समूहको मात्र होइन,समग्र राष्ट्रको साझा समस्या हो, जसको समाधान विधिको शासनको पूर्ण पालना गर्दै खोजिनु अनिवार्य छ ।’
अदालतबाट भएका आदेशहरू तथा विगतका संसदीय समितिका निर्णयलाई मार्गदर्शक मान्दै सरकार अघि बढ्नुपर्ने कांग्रेसको भनाइ छ । ‘बल प्रयोगभन्दा अघि समाधानको विवेकपूर्ण, न्यायोचित र मानवीय उपाय अवलम्बन गरिनु आवश्यक छ,’ कांग्रेसलदे भनेको छ, ‘सबैभन्दा पहिले, वास्तविक सुकुम्बासी को हुन् र को होइनन् भन्ने स्पष्ट पहिचान सुनिश्चित गरिनुपर्दछ ।’
सुकुम्बासीलाई जग्गा र आवासको उपलब्ध गराउनु सरकारको दायित्व भएको कांग्रेसले स्मरण गारएको छ । ‘वास्तविक सुकुम्बासीलाई जमिन र आवास उपलब्ध गराउनु केवल नीतिगत दायित्व मात्र होइन, यो उनीहरूको मौलिक अधिकारको संरक्षणसँग जोडिएको संवैधानिक कर्तव्य हो,’कांग्रेसले भनेको छ,‘यो गरेपछि सुकुम्बासीको नाममा गलत फाइदा लिइरहेकाहरूलाई कानुन बमोजिम व्यवहार गर्ने बाटो खुल्छ ।’
अहिले सुकुम्बासीमाथि सरकारले बल प्रयोग गर्न खोजेकोमा कांग्रेसले आपत्ति जनाएको छ । यसको न्यायपूर्ण दृष्टिकोणले समाधान खोज्नुपर्ने जनाएको छ ।
‘आफ्नो दायित्व निर्वाह नगरी बल प्रयोग मार्फत समस्या समाधान खोज्नु शासन सञ्चालनको अपरिपक्व र अविवेकी शैली हो,’ कांग्रेसले भनेको छ,‘त्यसैले सरकारसँग हाम्रो स्पष्ट आग्रह छ- संवेदनशीलता,कानुनी आधार र न्यायपूर्ण दृष्टिकोणका साथ यस समस्याको दिगो समाधानतर्फ अग्रसर होस् ।’








