बुटवल,६ बैशाख ।
बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको “क्लिन अमरपथ अभियान” मा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू र सम्बन्धित संस्थाहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
आइतबार आयोजित बैठकमा सहभागी कम्पनी तथा संस्थाहरूले अव्यवस्थित रूपमा टाँगिएका इन्टरनेट तथा दूरसञ्चारका तारहरूको व्यवस्थापनमा सहकार्य गर्ने बताएका हुन् ।
कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवल क्षेत्रमा जथाभावी टाँगिएका तारहरूले शहरको सौन्दर्य बिगारेको उल्लेख गर्दै यसको उचित व्यवस्थापनका लागि सहयोग गर्न आग्रह गरे । उनले बुटवललाई स्वच्छ,सफा,हरियाली, उज्यालो र सुरक्षित शहरका रूपमा विकास गर्ने योजना अनुसार काम अगाडि बढाइएको बताउँदै सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।
त्यसैगरी, वडा नं. ४ का अध्यक्ष नरिश्वर शर्मा, वडा नं. ५ का अध्यक्ष हरि प्रसाद श्रेष्ठ र वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपानेले पनि बोल्दै सेवा प्रदायक कम्पनीहरूको न्यून क्षति हुने र सेवा अवरुद्ध भएमा छिटो पुनः सञ्चालन गर्न सकिने गरी तार व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।








