परासी,१ बैशाख ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ को एक फर्ममा बर्ड फ्लु पुष्टि भएको छ । सुनवल नगरपालिका वडा नं १३ सूर्यबस्तीस्थित एक किसान फर्ममा पालिएका कुखुरामा बर्ड फ्लु पुष्टि भएको हो ।
कुखुरा झोक्राउने र मर्न थालेपछि परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको पशुसेवा विज्ञ केन्द्र परासीका प्रमुख दीपक भुसालले जानकारी दिए ।
एक हप्ताअगाडि गरिएको परीक्षणमा र्यापिड परीक्षण गर्दा बर्ड फ्लु देखिएको र थप परीक्षणका लागि केन्द्रीय पशुपंक्षी रोग प्रयोगशाला काठमाडौंमा पठाइएकामा मंगलबार बर्ड फ्लु पुष्टि भएको भुसालले बताए ।
बर्ड फ्लु देखिएको फर्म र आसपासका २ सय बढी कुखुरा नष्ट गरिएको छ । जिल्लामा खुला सिमानाका कारण भारतबाट अवैध रूपमा कुखुरा भित्रिँदा फ्लु फैलिने जोखिम बढ्दो छ ।






