काठमाडौँ,२९ चैत ।
अमेरिका र इरानबीच पाकिस्तानमा २१ घण्टासम्म चलेको उच्चस्तरीय शान्ति वार्ता निष्कर्षबिहीन भएको छ ।
पाकिस्तानको मध्यस्थतामा भएको वार्तामा सहमति नजुटेपछि अमेरिकी टोली अब पाकिस्तान छोड्ने तयारीमा रहेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उपराष्ट्रपति भान्सका अनुसार, अमेरिका वार्तामा ‘सद्भावका साथ’ सहभागी भए पनि इरानबाट आणविक हतियार नबनाउने स्पष्ट प्रतिबद्धता देखिएको छैन । उनले इरानले आणविक हतियार विकास नगर्ने र आवश्यक साधनहरू नखोज्ने ठोस प्रतिबद्धता दिनुपर्ने उल्लेख गरे ।
इरानी विदेश मन्त्रालयले भने वार्तालाई सकारात्मक भएको भन्दै अमेरिकालाई अत्यधिक माग अघि नसार्न आग्रह गरेको छ । इरानले आफ्ना ‘वैध अधिकार र हित’को रक्षा आवश्यक रहेको जोड दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको परिणामले खासै फरक नपर्ने प्रतिक्रिया व्यक्त गर्दै ‘जे भए पनि हामी जित्छौं’ भनेका छन् । वार्ताको मुख्य विषय इरानको आणविक कार्यक्रम, हर्मुज जलमार्ग खोल्ने र क्षेत्रीय तनाव कम गर्ने रहेका छन् ।
यसैबीच अमेरिकी सेनाले हर्मुजमा नौसैनिक गतिविधि बढाएको बताइएको छ, यद्यपि इरानले त्यसलाई अस्वीकार गरेको छ ।
उपराष्ट्रपति भान्सले पाकिस्तानको शान्तिको प्रयासको प्रशंसा गर्दै वार्ताको असफलतामा अमेरिकी टोलीको कुनै कमजोरी नभएको दाबी गरेका छन् ।








