बुटवल,२८ चैत ।
बुटवल-११ देवीनगर स्थित शाइनो बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १६ औँ स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा भाेजनदान कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारीले बुटवल–८ सुख्खानगरस्थित मानव सेवा आश्रममा आश्रित ५५ जना बेसहारा तथा असहाय व्यक्तिलाई भोजन गराएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बुटवल हस्पिटल प्रा.लि.का कार्यकारी अधिकृत विक्रम खड्काले सहकारीले गरेको सेवामूलक कार्यको प्रशंसा गर्दै यस्ता गतिविधिले समाजमा मानवीय भावना विकास गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
“मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो । सहकारीले सामाजिक सेवासँग जोडेर उदाहरणीय कार्य गरेको छ,” उनले भने ।
कार्यक्रममा सहकारीका अध्यक्ष भाेजबहादुर केसीले स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी सामाजिक सेवासँग जोडिएको बताए । उनले समाजका असहाय नागरिकसँग खुसी बाँड्ने उद्देश्यले भोजन कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।
“सहकारी संस्थाले आर्थिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा भोजन सेवा प्रदान गर्नु हामी सबैका लागि आत्मसन्तुष्टिको विषय हो,” अध्यक्ष केसीले भने ।
कार्यक्रममा सहकारीका सञ्चालक समितिका सदस्यहरूको सहभागिता रहेको संस्थाका उपाध्यक्ष यदुमणि पोखरेलले जानकारी दिए
बुटवलको देवीनगरमा रहेको शाइनो सहकारीले नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदानसमेत गर्दै आगामी दिनमा यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।






