बुटवल,२६ चैत ।
बुटवल उपमहानगरपालिकाद्वारा आयोजित तीन महिने प्रारम्भिक ज्याेतिष तथा तीन महिने सहायक पुराेहित प्रशिक्षण आजदेखि सुरु भएको छ ।

लुम्बिनी ज्याेतिष तथा वास्तु सेवा प्रा.लि.बुटवलको सहकार्यका भएको प्रशिक्षणको बुधबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले नगरवासीहरूलाई सीपसँग जाेडेर स्वराेजगार तथा आत्मनिर्भर बनाउने उदेश्यले बुटवल उपमहानगरपालिकाले विभिन्न सीपमूलक तालिम दिँदै आएको भन्दै तालिमबाट लाभ लिन सहभागीहरूलाई आग्रह गरे ।

सबै भाषा,धर्म र समुदायको अभिभावकत्व ग्रहण गर्दै बुटवल उपमहानगरपालिकाले जनजातिका भाषा तालिम तथा विभिन्न किसिमका सीपमूलक तालिम सञ्चालन गर्दै आइरहेको भन्दै उनलेे उपमहानगरपालिकाले दिएको तालिमबाट सयौं नागरिक स्वराेजगार र आत्मनिर्भर बनेको उल्लेख गरे ।

बुटवललाई धार्मिक पर्यटकीय विश्राम स्थलको रूपमा विकास गर्ने योजना अगाडि बढाएको नगर प्रमुख पाण्डेयले बताए ।

उपप्रमुख सावित्रादेवी अर्यालले सबै समुदायको संस्कार र संस्कृतिको प्रवर्द्धन गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले विभिन्न भाषाका तालिम दिनुका साथै सीपमूलक तालिम प्रदान गर्दै आएको बताइन् ।

साे अवसरमा लुम्बिनी ज्याेतिष तथा वास्तु सेवा प्रा.लि.बुटवलका सञ्चालक जनार्दन न्याैपानेले प्रशिक्षणको आवश्यकता र महत्वबारे प्रकाश पारेका थिए ।

६० जनाको सहभागीता रहेको प्रशिक्षण तीन महिनासम्म सञ्चालन हुने कार्यक्रम सहजकर्ता सुन्दर भण्डारीले जानकारी दिए ।