बुटवल,२६ चैत ।
रुपन्देहीको तिलोत्तमा–५, मणिग्रामस्थित एक क्यासिनोभित्र जुवा खेलेको आरोपमा ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देही बाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा खटिएको टोलीले क्यासिनोमा जाँच गर्ने क्रममा बुधबार राति उनीहरूलाई पक्राउ गरेको हो ।
मणिग्राम स्थित सीएमजी क्लब क्यासिनोमा जाँच गर्दा जुवा खेलाउने र खेलिरहेका नेपाली नागरिकलाई नगदसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार जुवा खेलाउने कार्यमा संलग्न आरोपमा सर्लाहीको बरहथवा–८, का मुकेशकुमार श्रेष्ठ र ललितपुरको गोदावरी नगरपालिका–१५, का अजय केसी पक्राउ परेका छन् । जुवा खेलिरहेको अवस्थामा रुपन्देहीको बुटवल–१२,का गोविन्द शर्मा, बुटवल–९, का वासुदेव गौतम र कृष्ण गौतम, बुटवल–११, का चन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।
क्यसिनोबाट २ लाख १७ हजार ३ सय ९० नेपाली रुपैयाँ र तीन हजार ५ सय भारतीय रुपैयाँ नगद बरामद गरिएको थियो । यसबाहेक १ लाख २५ हजारका क्यासिनो क्वाइन, विभिन्न कम्पनीका ६ थान मोबाइल सेट र ७ गड्डी तास बरामद गरिएको प्रहरी नायव उपरीक्षक चन्दले बताए ।
पक्राउ परेकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








