बुटवल,२४ चैत ।
स्थापनाको छोटो अवधिमा पनि उत्कृष्ट कार्यसम्पादन गर्न
सफल पश्चिम नेपाल यातायात बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड लुम्बिनीप्रदेश भरिका बहुउद्देश्यीय सहकारीहरूमध्ये प्रथम बन्न सफल भएको छ ।

६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले राप्ती उपत्यका (देउखुरी)मा आयोजना गरेको उक्त कार्यक्रममा पल्स, एमसिआई र सुशासनका सूचकका आधारमा सो सहकारी उत्कृष्ट सहकारी बनेको हो ।

हालैमात्र चौथो साधारण सभा सम्पन्न गरेको सो सहकारीलाई मुख्यमन्त्री चेतनारायण आर्चायले “उत्कृष्ट कार्यसम्पादन” विधामा प्रथम पुरस्कार नगद रु.२५ हजारसहित प्रशंसा–पत्रद्वारा सम्मान गरेका छन् ।

संस्थाको सुशासन,पारदर्शिता र सदस्य केन्द्रित सेवाको प्रतिफलले नै संस्था स्थापनाको छोटो अवधिमा नै यो उचाइसम्म पु¥याउन सफल भएको पश्चिम नेपाल यातायातबहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष दधिराम खरेलले बताए । अध्यक्ष खरेलले भने—“यो सहकारी नितान्त यातायात व्यवसायी, मजदुर, चालक,तथा कर्मचारीका लागि खोलिएको हो, उनिहरुको परिवारको आर्थिक हितका लागिस्थापना भएको हो ।”

यातायात व्यवसायी, चालक र मजदुरहरुको र परिवारको हकहित संरक्षण र बिकास गर्ने उद्देश्यले स्थापना गरिएको सो सहकारीमा हालसम्म ३३ सय ८३ शेयर सदस्य रहेका छन् ।

सहकारीमा २ हजार ९ सय १ पुरुष तथा ४ सय ८२ महिला रहेका छन भने शेयर रकमतर्फ कुल १ करोड ८२ लाख ७४ हजार १ सय छ । निक्षेपतर्फ ९ करोड २ लाख हजार ४२ हजार ९ तथा कर्जा लगानी तर्फ १० करोड ३३ लाख ४८ हजार ४ सय ३६ रहेको संस्थाले जनाएको छ । कुल बासलात ११ करोड, ४९ लाख २८ हजार ४ सय ३६ रहेको छ ।

सहकारीले चालक तथा मजदुरहरुले आफ्नो अमुल्य जीवनको महत्वपुर्ण समय यातायात क्षेत्रमा विताउने र उमेर पुगेपछि रिटायर लाईफ विना पैसा जिउनुपर्ने बाध्यतालाई सानोसानो रुपमा भएपनि आर्थिक संकलन गरि सहकारीको माध्यमबाट आर्थिक रुपले सहयोग पुराउन खोजिएकोे प्रवन्ध संचालक रामचन्द्र भुसालले जानकारी दिए ।

प्रबन्ध संचालक भुषाल भन्छन—“यातायात व्यवसायी,कर्मचारी र मजदुरहरुको पारिवारिक आर्थिक अवस्थालाई सबलिकरण गर्ने
उद्धेश्यले २०७८ सालमा स्थापना गरिएको हो ।” सहकारीले सबै शेयर सदस्यहरुको कुनैपनि दुर्घटना भई मृत्यु भएमा १५ देखि २२ लाख बराबरको दुर्घटना विमाको समेत व्यवस्था गरिएकोे छ ।

हालसम्म ४ जना शेयर सदस्यका परिवारले उक्त सुबिधा लिईसकेको सहकारीका सचिव जितेन्द्र खत्रीले बताए । सहकारीले प्रविधि मैत्री सफट्वेयर मार्फत सेवा प्रवाह गर्दै मोवाइल वैकिङ्ग र एसएमएस सेवा मार्फत शेयर सदस्यहरुलाई आफ्नो वित्तिय जानकारी प्रदान गर्दै आएको सहकारीका व्यबस्थापक प्रशान्त सोमै मगरले बताए ।

लुम्बिनी प्रदेश सरकारले विभिन्न चार विधामा पाँचवटा सहकारी संस्थालाई पुरस्कृत गरेको छ । पल्स, एमसिआई र सुशासनका सूचकका आधारमा ती सहकारी संस्थालाई २५ हजार रुपैयाँ र प्रमाण पत्रसहित पुरस्कृत गरिएको हो ।

बहुउद्देश्यीय सहकारी संस्थातर्फ रुपन्देहीको बुटवलमा प्रधान कार्यालय
रहेको पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारी संस्था लि. बुटवल–४ रुपन्देही, बचत तथा ऋण सहकारी संस्थातर्फ किसान कमैया कल्याण बचत तथा ऋण सहकारी संस्था लि. ठाकुरबाबा–५ बर्दिया र राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लि. तुलसीपुर–६ दाङलाई पुरस्कृत गरिएको छ ।

यसैगरि उत्पादक सहकारी संस्थातर्फ उत्कृष्ट साना किसान कृषि सहकारी संस्था लि. राप्ती सोनारी–८ बाँके र उपभोक्ता सहकारी संस्थातर्फ तुलसी उपभोक्ता सहकारी संस्था लि. तुलसीपुर–६ दाङलाई पुरस्कृत गरिएको प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोख्रेलले सहकारी क्षेत्रलाई व्यवस्थित गर्दै लगिएको र ऐन–कानुनलाई समयानुकूल संशोधन गर्न आवश्यक रहेको बताए ।