कपिलवस्तु,२४ चैत ।
सशस्त्र प्रहरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका कपिलवस्तुकाे शुद्धोधन गाउँपालिका उपाध्यक्ष लाला (होमप्रकाश) चौधरीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।
चौधरीमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट मंगलबार ४ दिनको म्याद लिएको छ । हथिहवा बीओपीअन्तर्गत शिवलवा पोस्टमा ड्युटीमा खटिएका सशस्त्र वरिष्ठ हवल्दार भीमबहादुर चौधरीलाई सोमबार दिउँसो उपाध्यक्ष चौधरीले कुटपिट गरेकाे प्रहरीले जनाएको छ ।
उपाध्यक्ष चौधरीका आफन्तहरूले सीमापारीबाट मोटर पार्ट्सका सामान ल्याउँदा चेक गरेर अनावश्यक दुःख दिएको भन्दै उपाध्यक्षले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।
सशस्त्र प्रहरीले किटानी जाहेरी दिएपछि मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।








