बुटवल,२३ चैत । रुपन्देही उद्योग संघले अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गरी आपूर्ति व्यवस्थापन सहज बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष कृष्णप्रसाद पराजुली र महासचिव सुमन बस्यालले आज एक प्रेस विज्ञप्ति जारी गरि हाल मध्यपूर्वका देशहरूमा जारी द्वन्द्वको प्रत्यक्ष असर नेपालका उद्योग क्षेत्रमा देखिन थालेकाले अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न र आपूर्ति व्यवस्थापन सहज बनाउन सरकारको ध्यानाकर्षण गराएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा भएको अस्वाभाविक वृद्धिका कारण रुपन्देही सहित देशभर सञ्चालनमा रहेका अधिकाश उद्योगहरू ‘सटडाउन’को अवस्थामा पुग्ने जोखिम बढेको भन्दै विज्ञप्तिमा विशेषगरी प्लाष्टिकजन्य उद्योगहरूमा प्रयोग हुने कच्चा पदार्थको मूल्यमा सय प्रतिशतसम्म वृद्धि भएको छ भने कच्चा पदार्थ सहज रूपमा उपलब्ध हुन नसक्दा उत्पादन प्रक्रिया प्रभावित भएको जनाइएको छ । उद्योगहरू जेनतेन सञ्चालन भइरहे पनि उत्पादन लागत अत्याधिक बढेका कारण उद्योग सञ्चालन नै चुनौतीपूर्ण बन्दै गएको र लागत बढेसँगै उत्पादित वस्तुको मूल्य बढाउनु पर्ने बाध्यता सिर्जना हुनुका साथै बजारमा माग घट्दै गएकाले उद्योगहरू थप समस्यामा परेकाे विज्ञप्तिमा उल्लेख छ ।

कच्चा पदार्थको मूल्य वृद्धि मात्र नभई ढुवानी भाडा, बीमा शुल्क तथा अन्य प्रशासनिक खर्चमा समेत उल्लेख्य वृद्धि भएको जनाउँदै विज्ञप्तिमा यसले उद्योगहरूको समग्र लागत संरचना असन्तुलित बनाएको जनाइएको छ । लागत नियन्त्रण बाहिर जाँदा उद्योगहरू उत्पादन घटाउन बाध्य भएका छन् भने केही उद्योगहरू आंशिक रूपमा बन्द हुने अवस्थामा पुगेकाे उल्लेख गर्दै विज्ञप्तिमा अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र आपूर्ति व्यवस्थापनमा देखिएको समस्याका कारण उद्योग क्षेत्र गम्भीर संकटतर्फ उन्मुख भएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ-“उद्योगहरू जेनतेन सञ्चालन भइरहे पनि उद्योगहरूमा रोजगारीमा रहेका हजारौं श्रमिकहरूको व्यवस्थापन गर्न चुनौती थपिएको छ । उत्पादन घट्दै जाँदा रोजगारीमा प्रत्यक्ष असर पर्ने जोखिम बढेको छ । उद्योग बन्द हुने अवस्थामा पुग्दै गर्दा यसको प्रभाव श्रमिक, आपूर्ति श्रृंखला, ढुवानी व्यवसाय, बैकिङ्ग तथा समग्र आर्थिक गतिविधिमा पर्ने निश्चित रहेकोले यसमा सरकारको तत्काल ध्यान जान जरुरी छ । हाल कच्चा पदार्थको आपूर्ति समस्याले समग्र बजारमा अत्याधिक मूल्यवृद्धि बढ्दै गएको छ । यस्तो अवस्थामा नियमनकारी निकायको प्रभावकारी अनुगमन आवश्यक देखिएको छ । अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न तथा आपूर्ति व्यवस्थापन सहज बनाउन सम्बन्धित निकायले तत्काल आवश्यक पहल गर्नुपर्ने अवस्था देखिएको छ । उद्योग क्षेत्रलाई जोगाउन सरकारले तत्काल आवश्यक कदम चाल्न अनुरोध गर्दछौं । कच्चा पदार्थ आयातमा सहुलियत,ढुवानी लागत नियन्त्रण, बैंक ब्याजदरमा राहत तथा उद्योग सञ्चालनका लागि आवश्यक वित्तीय सहुलियत उपलब्ध गराउन जरुरी छ । साथै विद्युत् महसुल तथा अन्य सेवा शुल्कमा अस्थायी राहत उपलब्ध गराउन सरकारको ध्यान जान अपरिहार्य छ ।”

उद्योग क्षेत्र देशको आर्थिक मेरुदण्ड भएकोले उद्योगहरू बन्द हुँदा राजस्व संकलन घट्ने, बेरोजगारी बढ्ने तथा समग्र आर्थिक गतिविधि प्रभावित हुने भन्दै संघले यस्तो अवस्थामा उद्योग क्षेत्रको संरक्षणका लागि सरकार, सम्बन्धित निकाय तथा निजी क्षेत्रबीच समन्वय गर्न र गराउन अनुरोध गर्दै हामी त्यसका लागि तयार रहेको जनाएको छ । वर्तमान चुनौतीपूर्ण परिस्थितिमा उद्योग क्षेत्रको संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकार तथा सम्बन्धित निकायसँग जोडदार आग्रह गर्दै विज्ञप्तिमा उद्योग क्षेत्रलाई जोगाउन सकिए मात्र रोजगारी, उत्पादन र समग्र अर्थतन्त्रलाई सन्तुलित राख्न सम्भव हुने विश्वास ब्यक्त गरेको छ ।
मितिः