-प्रेम सुबेदी
नेपालको कम्युनिस्ट आन्दोलनमा यतिबेला पुनर्जागरण पुनर्निर्माण र पुनर्गठनको बहस चलेको छ । तर, बहसका बिषयबस्तु के बनाउने ,त्यो बहस कसरी गर्ने, त्यसको आधार के हुने ? जस्ता कुराहरु अहिले पनि अन्योल मै छन । सामान्यतया बहसप्रती देखिएको उत्साहलाई सकारात्मक रुपमा लिनुपर्दछ , त्यसमा अन्तरनिहित प्रवृत्ति, चिन्तन र दृष्टिकोणहरुमा अलि बढी स्पस्टताको आवस्यकता छ । कम्युनिस्ट आन्दोलनलाई केवल राजनीतिक आन्दोलन वा ,गतिविधिसङ्ग सिमित गरेर चल्ने बहसले पक्कै पनि आजको समस्यालाई समाधान दिन सक्दैन । त्यसैले कम्युनिस्ट आन्दोलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा खादै आएको धक्का, त्यसले पारेको प्रभाव र आजका चुनौती तथा भबिष्यको गन्तव्य समेतलाई ध्यान दिएर बहस गर्नु पर्ने हुन्छ ।
अहिले बहसको केन्द्रिय बिषयबस्तुहरु बिचार, राजनीति, संगठन , नेतृत्व ,संस्कृती , वर्गसंघर्ष ,कार्यसैली भु- राजनैतिक प्रभाव , बिज्ञानप्रबिधिमा भएको बिकास र उत्पादन सम्बन्धमा आएको फेरबदल समेतलाई ध्यान दिनु पर्ने देखिन्छ ।उपरोक्त बिषयहरुमा छलफल र बहस गरेर नै अहिलेको कम्युनिस्ट आन्दोलनमा उपयुक्त निकास निकाल्न सकिनेछ । त्यसका लागि कुनै त्यस्तो भरपर्दो औपचारिक प्लेटफर्म अन्तर्राष्ट्रिय रुपमा पनि नरहेको र राष्ट्रिय रुपमा पनि कम्युनिस्ट आन्दोलन बिभाजित अवस्थामा रहेकोले त्यति सजिलो भने छैन । तर, आवस्यकताका दृष्टिकोणले त्यो यतिबेला अनिवार्य जस्तै बन्न पुगेको छ । पहिलो कुरा कम्युनिस्ट आन्दोलन आफैमा बिभाजन सहि होइन, मार्क्सवादले सर्वहारा वर्गको अलगअलग पार्टीको कल्पना गरेको थिएन र कुनै पनि देशमा मजदुर वर्गको अलगअलग पार्टी बन्न हुन्न । त्यो मान्यता एकातिर छ भने ,अर्कोतिर विभिन्न देशमा कम्युनिस्ट आन्दोलनको नाममा एक भन्दा धेरै पार्टीहरु छन ।ती सबैले ” संसारका मजदुर एक हौ” भन्ने नारा पनि लगाइ रहेकाछन वा लगाइरहेका छौ । यो नै हाम्रो बहसको प्रस्थान बिन्दु हुनु पर्दछ । कम्युनिस्टहरु आफै बिभाजन हुन मिल्छ कि मिल्दैन ? बहस यहाँबाट शुरु गर्न पर्छ होला । यदि सच्चा कम्युनिस्ट हो भने उनीहरु फुट्न मिल्दैन र उनीहरुको अलगअलग पार्टी रहन पनि हुदैन। त्यसैले क्रान्तिकारी कम्युनिस्टहरु यदि अलगअलग ठाउँमा छन भने ती एक हुनुपर्छ । तर, अहिलेको अवस्था के छ भने एक अर्कोलाई कम्युनिस्ट पनि भन्ने अलगअलग पनि बस्ने जुन परम्परा छ त्यो कम्युनिस्ट आन्दोलनलाई नै मजाकको बिषय बनाएउने तरिका हो । यो प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई आ- आफ्ना ठाउँबाट बिसर्जनमा लैजान्छ। यो सत्य हो , कैयौं असरबादीहरुले कम्युनिस्ट आन्दोलनको नाममा भ्रम सिर्जना गर्दै आएका छन । त्यसलाई हल गर्न मुख्यतः बैचारिक हिसाबले भण्डाफोर , वर्गसघर्षको आधारमा उनीहरुको बर्गिय पक्षधरताको उजागर , पुजीवाद/प्रतिक्रियावादीशक्ति सङ्गको सम्बन्ध र जनताका न्यायिक प्रश्नमा देखिने उदासिनताले अवसरवादीहरुको सजिलै पहिचान हुन्छ र गर्नुपर्छ । तर , समस्या अवसरवादको भन्दा पनि क्रान्तिकारी कम्युनिस्टहरुमा रहेका कमजोरीको बस्तुनिष्ट समिक्षा र मार्क्सवादको गतिशील सिद्धान्तको जगमा अफ्ना बिशेषतामा रणनीति ,कार्यनीति, योजना र कार्यक्रममा बिकास गर्न नसक्दा कम्युनिस्ट आन्दोलन बैचारिक समस्या रहेको देखिन्छ । चिनियाँ समाजको सापक्षेता र विशिष्टतालाई आत्मसात गर्दै जसरी माओत्सेतुङले मार्क्सवाद लेनिनवादमा सिर्जनात्मक बिकास गरे, त्यो अभाव अहिले बिश्वब्यापी संकट हो ।जवसम्म यो समस्यालाई हल गरिदैन, तवसम्म बैचारिक अबरुद्धताको निकास खोज्न गाह्रो हुन्छ । कम्युनिस्ट आन्दोलनको पछिल्लो करिव ५०/ ६० वर्षको मूल समस्या यहि नै हो । चीनमा भएको प्रतिक्रान्ती पछि बिश्वका विभिन्न देशमा भएका सशस्त्र सघर्षहरु प्रायः असफलता तथा साम्राज्यवादले नव- उदारवादी अर्थतन्त्रको जगमा फैलाएको कर्पोरेट पुजीको बिश्वब्यापी प्रभावलाई प्रतिवाद गर्न तथा कम्युनिस्ट आन्दोलनलाई नयाँ रुपमा सङ्गठित गर्न नसकिरहेको सन्दर्भमा स्वाभाविक कैयौं प्रश्न उठिरहेका छन ।
आजको संकट कम्युनिस्ट आन्दोलनको होइन ,यो पुजीवाद कै संकट हो । पुजीवादले आफ्नो बचाउ र समाजवादी अर्थतन्त्र विरुद्ध अगाडि सारेको नव उदारवादको पनि असफलता हो । यो बिषयमा यहाँ चर्चा गरिने छैन र मुख्यतः कम्युनिस्ट आन्दोलनको पुनर्जागरण पुनर्निर्माण र पुनर्गठनका सन्दर्भमा नै चर्चा गरिनेछ । कम्युनिस्ट आन्दोलनको आधरभुत बिषय भनेको सिद्धान्तको पुनर्जागरण नै हो । मार्क्सवादको आधरभुत मर्म भनेको प्राकृति तथा समाजको गतिशीलतासङ्गै आफूलाई विकसित गर्नु हो । उक्त सिद्धान्तहरुलाइ सुत्रको रुपमा होइन, समयको गतिमा प्रयोगद्वारा पुनर्पुष्टी गर्नु कम्युनिस्टहरुको कार्यभार हो।मार्क्सवादको उदय देखि अहिलेसम्म उत्पादनका साधन , बिज्ञान प्रबिधि र चिन्तनको स्रोतहरुमा भएको बिकासको पृष्ठभूमिमा बिचारको बिकास हो । त्यो बिषयमा कम्युनिस्टहरुको खोज, अनुसन्धानको पक्ष एकदम कमजोर हुँदै जादा स्वयं कम्युनिस्ट आन्दोलन आअहिलेको अवस्थामा आएको हो । जसको परिणाम एकातिर , सिद्धान्तको रक्षाका नाममा समयको गतिलाई ठिकसङ्ग आत्मसात गर्न नस्क्दा जडसुत्रबादी गल्ती हुने र अर्कोतिर , सिद्धान्तको सिर्जनात्मक बिकासको नाममा मार्क्सवादका आधरभुत सिद्धान्तलाई तिलान्जली दिएर दक्षिणपन्थी भट्कावमा पुग्ने र कम्युनिस्ट आन्दोलनलाई पुजिवादको छत्रछायामा कैद गर्ने जुन प्रवृत्तिहरु देखापर्दै आए । त्यसले कम्युनिस्ट आन्दोलनको मौलिक बिचारको बिकासमा गतिरोध उत्पन्न हुँदै आएको छ । जवसम्म यी गल्तीप्रती निर्मम समिक्षा गर्दै , आजको अर्थराजनीती, समाजशास्त्रीय अध्ययन बिज्ञान प्रबिधिमा भएको बिकास ,उत्पादनका साधनमा आएको परिवर्तनलाई समेत ध्यान दिएर वर्गसघर्षको जगमा आन्दोलनलाई बिकास गरिदैन तवसम्म कम्युनिस्ट आन्दोलनले ठिक दिशा र गति लिन सक्दैन । कम्युनिस्ट आन्दोलनको पुनर्जागरण भनेको बिचारको बिकास नै हो ।जस्तो सामन्तवादको विरुद्धको सघर्षमा पुनर्जागरणकालको ऎतिहासिक महत्व छ , त्यसै गरि पुजीवाद / साम्राज्यवाद विरुद्धको पुनर्जागरणले नै समाजवादको यात्रा सहज बन्ने निश्चित छ । त्यो पुनर्जागरण भनेको बिचार , राजनीति , संगठन , सघर्ष , संस्कृती ,नेतृत्व समेतको पुनर्जागरण हो । कम्युनिस्ट आन्दोलनको आजको चुनौती बैचारिक बहसको ह्रास र नयाँ पुस्तामा जागरण ,उत्साह पैदा गर्न नसक्नु नै हो । त्यो समस्याको समाधानका लागि मार्क्सवादी साहित्य, मार्क्सवादी सिद्धान्तलाई अहिलेको विकसित बिज्ञान प्रबिधिसङ्ग जोड्ने र त्यसको प्रयोगद्वारा थप अद्यावधिक गर्ने, मार्क्सवादी चिन्तन र बहसलाई निश्चित पार्टी पङ्तीको घेराभन्दा फराकिलो बनाउदै आम जनता र बिशेषत नवपुस्तासङ्ग पुर्याउनु अनिवार्य छ । सामान्यतया युवा पीढी स्वयंमा रुढीगत सोचाइ र परम्परालाई त्यग्न र नयाँ बिचारप्रती आकर्षण हुने पङ्ती हो । तर ,विडम्बना युवापुस्ता ऎतिहासिक हिसाबले पुरानो भैसकेको पुजिबादी उत्पीडनबाट बिद्रोह गर्ने उत्साहमा जुन ह्रास आएको छ त्यसको मुख्य कारण बैचारिक बहसको अभाव र मार्क्सवादी सत्यतालाई समाजको यथार्थसङ्ग ब्यवहारमा प्रयोग गर्न नसक्नु नै हो । त्यसैको परिणाम कम्युनिस्ट आन्दोलनले विभिन्न भट्काव बेहोर्नु परको छ । यो यथार्थलाई आत्मसात गर्दै समाग्र आन्दोलनलाई माथि उठाउने महान उदेश्य साथ कम्युनिस्ट आन्दोलनको पुनर्जागरण आवस्यक छ । तसैले बिचार, राजनीति, संगठन,सघर्ष र सास्कृतिक पुनर्जागरण सहित कम्युनिस्ट आन्दोलनको पुनर्गठन र पुनर्निर्माणको आवश्यकता देखिन्छ ।
कम्युनिस्ट आन्दोलन सामान्य राजनीति मात्रै नभएर अहिले सम्म कै आधुनिक बैज्ञानिक र बिकसित बिचार र सिद्धान्त रहेकोले त्यसको सिर्जनात्मक प्रयोग आजको चुनौती पक्कै बनेको छ । जस्तो अत्याधुनिक प्रबिधि र टेक्नोलोजीको उपदेयता त्यसको सहि प्रयोगले मात्र पुष्टि हुन्छ, ठिक कम्युनिस्ट आन्दोलनको सच्याइलाइ पनि समाजको ऎतिहासिक बिकासले पुष्टि गर्दै आएको छ र गर्ने छ । आज कम्युनिस्ट आन्दोलनका विद्यार्थीहरुले ध्यान दिनुपर्ने मुख्य बिषय भनेको बिगतमा भएका कतिपय कमजोरी वा असफलताबाट मुर्क्षित हुने होइन, बरु तिनको बस्तुनिष्ट समिक्षा गर्दै ,कम्युनिस्ट आन्दोलनको उज्ज्वल भबिष्यलाइ केन्द्रमा राखेर पुनर्जागरण पुनर्गठन र पुनर्निर्माण गर्दै जाने हो । नेपालमा बैचारिक पुनर्जागरण आवश्यक र संभव दुबै छ, त्यसका लागी बैज्ञानिक खोज अनुसन्धान ,अध्यान र बौद्धिक बहस तथा नयाँ पुस्तामा आलोचनात्मक चेतनाको बिकास गरेर मात्रै पुनर्निर्माण र पुनर्गठनले सार्थकता पाउन सक्नेछ ।
(सुबेदी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय नेता हुन् )







