बुटवल,२३ चैत ।
कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरेको आरोपमा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहका अनुसार, उपाध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाइएको छ । अदालतबाट म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटना सुद्धोधन गाउँपालिका–५, हतिया धौनी क्षेत्रमा भएको हो । उपाध्यक्ष निकट व्यक्तिहरूले ल्याएको सामान जाँच गर्ने क्रममा सशस्त्र प्रहरी र उपाध्यक्षबीच विवाद सुरु भएको जनाइएको छ ।

सोही क्रममा चौधरीले ‘यो मेरो गाडी हो’ भन्दै ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवानमाथि हातपात गरेको आरोप छ । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूबारे अनुसन्धान जारी रहेको जनाएको छ ।