बुटवल,२० चैत ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिएका छन् ।
यहि चैत २९ र ३० मा हुने नेपाल उद्योग वाणिज्य महासंघको ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
अध्यक्ष अर्याललाई संघले महासंघको कार्यकारिणी सदस्य पदमा अगाडि सार्दै साधारण सभा तथा निर्वाचनका लागि संघको तर्फबाट मुख्य प्रतिनीधि समेत चयन गरिसकेको छ ।
सोही अनुसार अध्यक्ष अर्यालले उम्मेद्वारी दिएका हुन् । केन्द्रीय कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका अर्यालले जिल्ला नगर उद्योग वाणिज्य संघको संस्थागत विकास, नीतिगत सुधार, उद्योगी व्यवसायीहरुको हकहित, साना तथा मझौला उद्योगीलाई सम्वद्र्धन तथा प्रोत्साहन र उद्यमशिलता विकासका कार्यक्रमलाई प्राथमिकता दिइने प्रतिवद्धता व्यक्त गरेका छन् ।
त्यसका लागि जिल्ला नगर उद्योग वाणिज्य संघ, उद्योगी व्यवसायी, नेपाल उद्योग वाणिज्य महासंघ र तीनै तहका सरकारसंग समन्वयकारी भूमिका निर्वाहन गर्ने पनि उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण सभा तथा अधिवेशन यहि चैतको २९ र ३० गते काठमाण्डौमा हुँदैछ ।








