बुटवल,१९ चैत ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा भएको समितिले जनाएको छ ।

यही चैत २० र २१ गते हुने समितिको २५ औ वार्षिक साधारण सभा तथा १४ अधिबेशनवाट नयां नेतृत्व समेत चयन हुने छ ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टीकाराम गौतमले साधारण सभाको सबै तयारी पुरा भएको जानकारी दिए । यस पटक समितिको नयां नेतृत्वका लागि खुल्ला रुपमा लोकतान्त्रीक प्रकृया अनुसार निर्वाचन हुने उनलेे बताए ।

समितिमा नयां नेतृत्वका लागि चुनावी सरगर्मी पनि शुरु भएको छ । नयां नेतृत्वका लागि ३ जनाले आकांक्षा व्यक्त गरेकाे जनाइएको छ । यद्यपी निर्वाचनको कार्यतालिका अझै सार्वजनिक नभएकाले आधिकारिक रुपमा उम्मेदवारी भने दर्ता नभएको निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेले बताए । समितिको नयां नेतृत्वका लागि पूर्व वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्कीको नेतृत्वमा प्यानल तयार गरिएको जनाइएको छ । कार्कीको प्यानलले अनुभवी, कर्मठ, उर्जाशिल र व्यवसायी तथा मजदुरहरुको हितमा दत्तचित समावेशी संयुक्त साझा प्यानलका रुपमा अगाडी सारेको बताइएको छ । त्यस्तै व्यवसायीक हकहितका लागि कर्मठ र योग्य युवाहरुको प्यानल भन्दै याम बहादुर जिसीको नेतृत्वमा अर्को प्यानल तयार गरेको पनि सामाजिक संजालमा सार्वजनिक भएको छ । त्यस्तै व्यवसायी पंकज राईले अध्यक्षको उम्मेदवारमा आकांक्षा राखेको बताइएको छ ।

समितिमा २ हजार ट्रक र १ हजार २ सय व्यवसायी रहेका छन । १३ पदाधीकारी र ११ कार्यसमिति सदस्य पदका लागि निर्वाचन प्रकृयावाट नेतृत्व छनोट हुने भएको जनाइएको छ ।