बुटवल,१९ चैत ।
देशकै ठूलो मध्येको यातायात व्यवसायीकाे संस्था पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले यातायात व्यवसाय क्षेत्रका समस्या समाधान गर्न तीन तहका सरकारको ध्यानाकर्षण गराएको छ ।

छाडा चौपाया,बस टर्मिनलको अव्यवस्था,बढ्दो करको भार र जीर्ण राजमार्गका कारण यातायात व्यवसाय संकटमा परेको भन्दै यातायात व्यवसाय क्षेत्रमा देखापरेका समस्या समाधान गर्न तीन तहका सरकारको ध्यानाकर्षण गराएको हो ।

संस्थाले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी यातायात क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न संघीय, प्रदेश र स्थानीय सरकारसँग माग राखेको हो ।

बदलिँदो समयअनुसार प्रविधियुक्त र यात्रुमैत्री सेवा दिँदै आए पनि नीतिगत तथा संरचनागत समस्याले यातायात व्यवसाय प्रभावित भएको अध्यक्ष दधिराम खरेलले बताए । चैत १४ देखि १८ गतेसम्म सञ्चालन गरिएको छैटौँ वार्षिक साधारण सभामा उठेका विषयहरू सार्वजनिक गर्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । संस्थाले बुटवल उपमहानगरपालिका सँग छाडा चौपायाको नियन्त्रण, लुम्बिनी बस टर्मिनलको व्यवस्थापन सुधार, बसपार्कको क्षमता विस्तार,राजमार्गमै शुल्क असुली रोक्न तथा अटो भिलेजको व्यवस्थापन गर्न माग गरेको छ ।

बसपार्क प्रयोग नगर्ने सवारीसाधनबाट समेत बसपार्क कर असुली गरिएको भन्दै संस्थाले बसपार्क प्रयोग गर्ने सवारीसाधनबाट मात्रै त्यस्तो कर लिन पनि माग गरेको छ ।

त्यस्तै लुम्बिनी प्रदेश सरकार सँग सवारी इजाजतपत्रको अवधि एक वर्ष बनाउन,सवारी कर तथा आयकर घटाउन र दुर्घटना न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।

सवारीसम्बन्धी संघ–संस्थाको नवीकरण सहज बनाउन, वैज्ञानिक भाडादर लागू गर्न,अनियन्त्रित सवारी आयात रोक्न, निजी सवारीबाट यात्रु ओसारपसार नियन्त्रण गर्ने तथा ई–रिक्सा र टेम्पुजस्ता सवारीलाई राजमार्गमा सञ्चालन रोक्न संघीय सरकारसग माग गरिएको छ । राष्ट्रिय राजमार्गको मर्मत–सम्भारमा ढिलाइ हुँदा दुर्घटना बढेको र दुर्घटनापछि सवारी साधन लामो समयसम्म नियन्त्रणमा राखिँदा व्यवसायी आर्थिक समस्यामा परेकाे प्रा.लि.ले जनाएको छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले पूर्व सहमतिअनुसार २४ घण्टाभित्र सवारी जिम्मा–जमानीमा छोड्ने व्यवस्था कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेको छ । व्यवसायीहरूले उठाएका समस्या समाधान नगरे सार्वजनिक यातायात सेवा प्रभावित हुने चेतावनी समेत दिएका छन् ।

बुटवललाई केन्द्र बनाएर देशका विभिन्न भाग तथा भारतका शहरसम्म सेवा सञ्चालन गर्दै आएको संस्थाले आफू ठूलो यात्रुवाहक सवारी संस्था भएको दाबी गरेको छ ।