कपिलवस्तु,१७ चैत ।
ग्राहकको खाताबाट ठूलो रकम हिनामिना गरेको आरोपमा एक बैंक कर्मचारी पक्राउ परेका छन् । कपिलवस्तुको तौलिहवास्थित एक बैंकका कर्मचारी ग्राहकको खाताबाट आफ्नै खातामा रकम ट्रान्सफर गरी हिनामिना गरेको आरोपमा पकाउ परेका हुन् ।
बैंकिङ प्रणालीको दुरुपयोग गरी ग्राहकको करोडौँ रकम हिनामिना गरेको आरोपमा कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर १, पकडी बस्ने २८ वर्षीय रिषभ कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ परेका कार्कीले विभिन्न मिति र समयमा बैंकको आन्तरिक प्रणालीभित्र प्रवेश गरेर केही ग्राहकको खातासँग जोडिएको मोबाइल नम्बर परिवर्तन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यसपछि आफ्नै मोबाइल नम्बर ती खातामा जोडेर मोबाइल बैंकिङ तथा कनेक्ट आइपिएसमार्फत कुल १ करोड ६५ लाख रुपैयाँ अनधिकृत रूपमा ट्रान्सफर गरी रकम हिनामिना गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले कार्कीलाई चैत ११ गते पकडी क्षेत्रबाटै पक्राउ गरेको हो । उनीमाथि बैंकिङ कसुर सम्बन्धी मुद्दामा थप अनुसन्धान गर्न उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।








