काठमाडौं,६ चैत ।
इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ । परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ पर्नेमा धनुषाका अमृत झा रहेका छन् ।
परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको बताएका हुन् । होर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा ईरानले जहाजका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिएकाे थियाे । साेहि क्रममा उनी पनि परेका हुन् ।
अमृत झा उक्त जहाजमा प्राविधिक कर्मचारीका रूपमा कार्यरत थिए । इरानी रिभोलुसनरी गार्ड्सले इजरायलसँग सम्बन्ध रहेको दाबी गर्दै उक्त जहाजलाई होर्मुज जलमार्गबाट आफ्नो नियन्त्रणमा लिएको थियो । झाका परिवारले उनी सम्पर्कविहीन भएपछि परराष्ट्र मन्त्रालयमा खोजीका लागि निवेदन दिएका थिए ।
मन्त्रालयले तेहरानस्थित नेपाली दूतावासमार्फत उनको अवस्था बुझ्ने र रिहाइको पहल भइरहेको जनाएको छ ।
होर्मुज एउटा साँगुरो तर विश्वकै सबैभन्दा महत्वपूर्ण सामुद्रिक जलमार्ग हो । यसले फारसको पर्सियन गल्फलाई ओमानको खाडी र अरब सागरसँग जोड्दछ ।
झा जस्तै धेरै नेपालीहरू अन्तर्राष्ट्रिय ‘मर्चन्ट नेभी’ वा ठूला कार्गो जहाजहरूमा कुक, मेकानिक र सुरक्षा गार्डका रूपमा काम गर्छन्।








