काठमाडौँ,३ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’मा परेको छ ।

मंगलबार पनि सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको हो । साे मुद्दा बिगत तीन दिनदेखि न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलास सुनुवाइ भइरहेको छ ।

यसअघि सोमबार र आइतबार पनि यस रिटमा सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिँदै आएको थियो ।

अब भने अर्को सुनुवाइ बिहीबार हुनेछ । घोडेजात्रा पर्वका अवसरमा बुधबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा छ ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछाने विरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्दै आवश्यक प्रक्रियाका लागि सम्बन्धित जिल्लाका सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएकी थिइन् ।

जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा फिर्ता (अभियोग संशोधन) को निवेदन अदालतमा पेस गरे पनि जिल्ला अदालतले सर्वोच्चमा रहेको यो मुद्दाको टुंगो नलागेसम्म कुनै निर्णय नगर्ने भएका छन् ।

मुद्दा फिर्ता लिने निर्णय गरेपछि युवराज पौडेल, अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । यी दुई कसुरमा मुद्दा फिर्ता भए पनि लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा भने कायम रहनेछ ।