एनआरएनएको सबै कार्यसमिति सर्वसम्मत
काठमाडौँ,१ चैत ।
एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन भएका छन् । अध्यक्ष पदका प्रत्यासी रविन बज्राचार्यले आइतबार साँझ पत्रकार सम्मेलन गरेर शर्मालाई समर्थन गरेसँगै उनी सर्वसम्मत भएका हुन् । एकताको महाधिवेशन भएको र निर्वाचनमा जाँदा संघलाई आर्थिक भार पर्ने भएकोले अध्यक्षमा शर्मालाई समर्थन गरेको उनलेे बताए ।
अध्यक्षको दाबीबाट पछि हटेका बज्राचार्य उपाध्यक्ष पदमा रहन राजी भएकाे बताइएको छ ।
यसअघि उम्मेदवारी फिर्ता लिएका रविन शेरचनलाई पनि उपाध्यक्ष पद दिइने भएको छ ।
यससँगै एनआरएनएको सबै कार्यसमितिमा सहमति जुटेको निर्वाचन आयुक्त टीबी कार्कीले बताए । बाँकी पदहरुमा निर्वाचित भएकाहरुको नामावली सोमबार सार्वजनिक गर्ने समेत उनले बताए ।
एनआरएनएको १२ औं महाधिवेशन फागुन ३० मा काठमाडौंमा सुरु भएको हो ।








